काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवंम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई वरियताका आधारमा प्रहरीको आईजीपीमा नियुक्त गरेको हो ।
तर, ३० वर्षे सेवाअवधिका कारण खापुङको कार्यकाल ७३ दिनको मात्रै हुनेछ । उनले २६ कात्तिक राति १२ बजेबाट अवकाश पाउनेछन् ।
खापुङले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए ।
खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् । खापुङ आफैं भने अहिलेसम्म इमान्दार तथा विवादरहित भएर काम गरिरहेकाले ३२औं आईजीपी बन्नेमा ढुक्क थिए ।
प्रहरीका महानिरीक्षक दिपक थापा आगामी १८ भदौ राति १२ बजेबाट ३० वर्षे सेवाअवधिका कारण अवकामा जाँदैछन् । उनीसँगै एआईजीहरु सुदिप गिरी, टेक तामाङ र कृष्णहरि शर्मा पोखरेल पनि अवकाशमा जानेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि ४ दिने चिन भ्रमणमा जाने लागेका छन् । १८ भदौमै फर्किने भएकाले आज बसेको मन्त्रिपरिषद् बैटकले खापुङलाई नियुक्त गरेर ३२ औं आईजीपीको निर्णय गरेको हो ।
खापुङको कार्यकाल २६ कात्तिकपछि सरकारले फेरि नयाँ आईजी नियुक्त गर्नुपर्ने हुन्छ । अहिले एआईजी रहेका दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम साहबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ ।
