काठमाडौं । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार घटना बिहीबार दिउँसो भएको हो ।
गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुल नजिक नुहाउन पसेका धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी दिउँसो १२ बजे सम्पर्कविहिन भएका थिए ।
‘७ जना साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो । खोलामा नुहाउने क्रममा उनीहरूले हात समातेर तर्न खोज्दा गहिरो भागमा फसेछन्’ डीएसपी चन्दले भने, ‘हात छुटेपछि अन्य तीन जना सकुशल बाहिर आएका छन् ।’
स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको थियो । १७ वर्षका नवीन डडाल, युवराज कुवर र आकाश मल्ल भने सकुशल छन् ।
मृतकमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कूल र एक जना ग्यालेक्सी स्कूलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
