काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-६ स्थित बार्दलीइन होटलमा गोप्य सूचनाको आधारमा प्रहरीले छ जना महिलासहित २२ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
११ भदौ राति ११ः२५ बजे जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट डिएसपी बिक्रम लामाको कमाण्डमा खटिएको टोलीले शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दलीइन होटलमा जुवा खेलिरहेको समूहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूमा ६ जना महिला र १६ जना पुरुष रहेका छन् । उनीहरूको साथबाट ३१ थान कौडा र १० लाख ७१ हजार ६०० रुपैयाँ बरामद गरिएको नुवाकोट प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीकाअनुसार, पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिन म्याद थप भइरहेको छ ।
पक्राउ परेका पेशेवर जुवाडे
पक्राउ परेका व्यक्तिहरूमध्ये नुवाकोटका सुजन तामाङ र बुटवलका ‘कमल बुकी’ भनेर चिनिने कमल ज्ञवाली कौडा खेलाउनेको नाइके रहेको खुलेको छ । उनीहरूले विगतदेखि काठमाडौंमा पेशेवर रूपमा जुवा खेलाउँदै आएको पाइएको छ ।
पूर्व प्रहरी समेत रहेका ज्ञवालीले प्रहरी जागिर छाडेर जुवा व्यवसायमा लागेको स्रोतले बताएको छ । पक्राउ परेका गिरोहका सदस्यहरूले काठमाडौंको टोखा क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी योजनाबद्ध तरिकाले जुवा खेलाएर करोडौंको लुटपाट गर्दै आएका थिए ।
उनीहरूको जुवा खेलाउने प्रविधि अत्याधुनिक डिभाइस प्रयोग गरेर खेल नियन्त्रण गर्ने किसिमको रहेको थियो । सो घटनामा खेल चलाइरहेका बुकीहरू भने फरार भएका थिए ।
स्रोतका अनुसार कमलले काठमाडौंमा जुवा हाँकेर करिब ५० करोड जम्मा गरिसकेका छन् । त्यो रकम उनले मिटरब्याजमा लगाउँदै आएको बताइएको छ ।
काठमाडौं प्रहरीको निगरानी बढेपछि कमल ज्ञवाली र उनका सहकर्मीहरूले काठमाडौं को सीमा क्षेत्र धादिङ र नुवाकोटमा जुवा खेलाउन थालेका थिए ।
तर, उनीहरुलाई नुवाकोट प्रहरीले समातेपछि करोडौंको खेल फेल खाएको छ । ११ भदौ राति पनि उक्त जुवामा करोडौंको खेल भएको बताइन्छ । उनीहरुले मोबाइलमार्फत कारोबार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरूले राजधानीको टोखा क्षेत्रमा योजनाबद्ध तरिकाले जुवा खेलाएर ठूलो रकम उठाएको र गिरोह लामो समयदेखि सक्रिय रहेको देखिन्छ ।
