काठमाडौं । रौतहटको गौर–सिर्सिया खण्डको मुडबलवा गेट नजिक सुटकेसमा मृत फेला परेकी २६ वर्षीया रुबीकुमारी साहको हत्या गर्ने लक्ष्मण पासवान विवाहित र दुई सन्तानका पिता रहेको खुलेको छ ।
उनी श्रीमती, दुई छोरा र आमाबाबुसहितको परिवारको भविष्यलाई छोडेर लक्ष्मण प्रेमिका रुबीको पछि लागेको पाइएको छ । हालसम्मको अनुसन्धान र जानकारी अनुसार जयनाथ पासवानका एक्ला छोरा लक्ष्मण र परिवारकी माईली छोरी रुबी दुवैजना माधवनारायण नगरपालिका–६ स्थित माधोपुरका हुन् ।
उनीहरुको घर करिव १ सय मिटरको दुरीभित्र छ । लक्ष्मण विपन्न परिवारका र रुवी मध्यम वर्गीय परिवारकी हुन् । रुबीका बाबु २०७० सालदेखि नै रोजगारीका निम्ति भारतको गुजरातमा छन् । रुबीको हत्या हुँदा समेत उनी भारतमै थिए ।
लक्ष्मण र रुबी दुवैजना माधोपुर माविमा कक्षा ६ पढ्दादेखि साथी हुन् । त्यतिबेलादेखि नै उनीहरु एक–अर्कालाई माया गर्थे । १० कक्षा पुग्दासम्म उनीहरुको प्रेम सम्वन्धका विषयमा स्कुलका साथी मात्र होइन, गाउँघर र परिवार सबै जानकार थिए ।
लक्ष्मण र उनको परिवारलाई यस विषयमा रुबीको परिवारले पटक–पटक सचेत गराइसकेको थियो । दुई परिवारबीच द्वन्द्व चलिरहेको थियो । त्यसैकारण रुबीको परिवार २०६८ सालमा गाउँबाट बसाइँ सरेर सदरमुकाम गौरमा डेरा गरी बस्दै आएको थियो ।
यसै क्रममा १० कक्षा पढ्दै गरेका १७ वर्षका लक्ष्मण र १६ वर्षकी रुबी २०६८ पुस २४ गते भागेर भारतको चण्डीगढ पुगे । उनीहरु सात महिनापछि २०६९ साउनमा गाउँ फर्किए । २०६९ साउन १५ गते सर्लाही जिल्ला अदालतबाट ‘कोर्ट म्यारिज’ गरेको उनीहरु बताउँथे ।
तर प्रहरी अनुसन्धानमा उनीहरुले नक्कली कागजात जुटाएर बिहे दर्ता गरेको देखिन्छ । विवाह गरेर फर्किने बेलामा रौतहट प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।
रुबीको परिवारले लक्ष्मण, उनका काका बैजनाथ हजार र भिनाजु खजान्ची पासवानविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखनमा प्रहरीमा मुद्दा दर्ता गरेका थिए । पक्राउ परेका लक्ष्मण १७ दिन हिरासतमा बसेर १५ हजार धरौटी बुझाई रिहा भए ।
झन्डै २ वर्ष मुद्दा खेपेका लक्ष्मण, उनका काका र भिनाजुलाई २०७१ मंसिर २५ मा तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले सफाइ दिएको थियो । लक्ष्मण पक्राउ परेको ६–७ महिनाभित्रै परिवारले रुबीको विवाह भारतको विहारस्थित मुजफ्फरपुर जिल्लाको रोक्साटोलका शिवसागर साहसँग गरिदियो ।
रुबीले विवाह गरेपछि लक्ष्मणले पनि मागी विवाह गरे । अहिले रुबीका ४ वर्षका छोरा तथा लक्ष्मणका ७ र ४ वर्षका छोरा छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण लक्ष्मण २०७६ सालमा वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगेका थिए । एक वर्षअघि बाबु जयनाथलाई प्यारालाइसिस भएपछि मलेसियामा कमाएको पैसा पनि उनले बाबुको उपचार र पुरानो ऋण तिर्नमै खर्च गरेका थिए ।
करिव दुई महिनाअघि रुबी छोरा पढाउन भन्दै गौरस्थित माइतीको डेरा आएकी थिइन् । त्यसको दुई महिनाअघि लक्ष्मण मलेसियाबाट फर्किएर गौरस्थित बालमन्दिर पछाडिमा डेरा लिई बस्न थालेका थिए । उनीहरुको डेरा करिब डेढ किलोमिटरको दुरीमा थियो ।
घटना भएको दिन शनिवार दिउँसो रुबी पार्लर पुगेकी थिइन् । उनीहरुबीचको कुराकानीपछि ४ बजेर ५५ मिनेटमा रुबी लक्ष्मणको डेरामा पुगेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले लक्ष्मणको डेराबाट केही तस्बिर समेत फेला पारेको छ । दुवैले ‘बर्थ डे सेलिब्रेट’ गरेको देखिएको छ ।
तर, बर्थडे कस्को हो ? भन्ने खुलेको छैन।
रुबी आइतबार चौरचन मनाउन भारतस्थित श्रीमानको घर जाने तयारीमा थिइन् । तर, कोठामा भएको भेटघाटकै क्रममा लक्ष्मणले रुबीको घाँटी थिचेर हत्या गरे । प्रहरीका अनुसार हत्यापछि उनी शव व्यवस्थापनमा जुटे ।
शवलाई सुटकेसमा प्याक गरेर ई–रिक्सामा राखि बागमती नदीमा फाल्ने योजना बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ । ई–रिक्सा चालक राजकुमार महराले ५ सय रुपैयाँमा शव व्यवस्थापनको जिम्मा लिएका थिए । तर बाटोमा जाँदै गर्दा ई–रिक्साको चक्कामा समस्या देखियो ।
राजकुमारले अर्को ई–रिक्सा बोलाउन खोजेका थिए । तर लक्ष्मणले मानेनन् । त्यसपछि लक्ष्मणले शवसहितको निलो सुटकेस मुडबलवा गेट नजिकैको सडकमा छाडेर हिँडे । सडकमै सुटकेस फेला परेपछि यो घटना चाँडै सार्वजनिक भयो ।
शनिवार राति नै सुटकेस फेला परे पनि प्रहरीले त्यसलाई खोलेन । आइतबार बिहान खोलेर हेर्दा सुटकेसभित्र रुबीको शव फेला पर्यो । त्यो देखेर प्रहरी नै आश्चर्यमा पर्यो । रुबीको हत्या कसले र किन ग¥यो ? भन्ने प्रहरीले खोजतलास गर्दैगर्दा लक्ष्मण भागेर सीमापारि भारतीय भूमि पुगे ।
तीन दिन भारतमा बसेर उनी गाउँ आए । रुबीको हत्या गरेको स्विकार्दै सामाजिक सञ्जालमा करिव १० मिनेटको भिडिओ पोष्ट गरे । मंगलबार बिहान शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गर्दैगर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर उपचारका निम्ति गरुडास्थित बेटर अस्पताल पुर्यायो । उपचारका क्रममा लक्ष्मणले ‘त्यस दिन डेरामा सम्बन्धकै विषयमा एक–अर्काबीच भनाभन भएको र त्यही क्रममा आफूले हत्या गरेको’ बताएका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । तर, उपचार सम्भव भएन । अनुहारसहित शरीरका अन्य भाग जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो ।
