काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या प्रकरणमा संलग्न तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मंगलबार आरोपीहरूलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
अदालतका अनुसार मृतक शाहीकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका ६३ वर्षीय बुबा नैने बन र ५६ वर्षीया आमा भक्कु बनलाई थुनामा पठाइएको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसपछि आइतबार सरकारी वकिल कार्यालयले ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको हो ।
उक्त बहसपश्चात अदालतले तीनै जना आरोपितलाई पुर्पक्षका लागि थुनामा राखी मुद्दाको थप अनुसन्धान अघि बढाउने आदेश दिएको बताइएको छ ।
