काठमाडौं । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आर्थिक अनियमिततासहित गम्भीर आरोप लागेपछि छानबिन गर्न एकैपटक ५ वटा समिति गठन गरिएको छ ।
प्रदेश प्रहरी स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी दर्ता भएका छन् । जसमध्ये ५ वटा गम्भीर प्रकृतिको रहेको बताइन्छ । आर्थिक अनियमितता, चालकहरूसँग अवैध असुली, मापसे नियन्त्रण प्रक्रियामा मनपरी, चोरीका सवारीसाधन गैरकानुनी प्रयोग र मालसामानसम्बन्धी लेनदेनमा अनियमितता रहेको बताइन्छ ।
हरेक विषयलाई छुट्टै अध्ययन गर्न एसएसपी स्तरका अधिकृतको नेतृत्वमा दुईवटा र एसपीको नेतृत्वमा ३ वटा समिति गठन भएको छ । एसएसपी कमल थापाको नेतृत्वमा आर्थिक अनियमितता र एसएसपी भीम दाहालको नेतृत्वमा चालकहरूसँग अवैध असुली प्रकरणबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।
यस्तै प्रदेश प्रहरी कार्यालयमै कार्यरत एसपी नारायण रन्जितकारको नेतृत्वमा गठित छानबिन समितिले मापसे नियन्त्रण प्रक्रियामा मनपरी, चोरीका सवारीसाधन गैरकानुनी प्रयोग र मालसामानसम्बन्धी लेनदेनमा अनियमितताबारे अनुसन्धान गर्ने भएको छ । यसरी एसपी सिलवालमाथि छुट्टा–छुट्टै पाँच समिति बनाइएको हो ।
आर्थिक अनियमिततामा मुछिएको र सिलवालको कार्यशैलीमाथि गुनासो तथा लिखित उजुरी नै आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको हो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चतुर्वेदीले एसपी सिलवामाथि छानबिनका लागि समिति गठन गरिएको पुष्टि गरे ।
सिलवालमाथि मापसे (मादक पदार्थ सेवन) गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नु पर्नेमा रातभर नियन्त्रणमा राखेको, रकम असुलेकोजस्ता आरोप लागेका छन् ।
त्यसैगरी, जरिवाना चिट काटी मापसे नगरेको अर्को चालकको जिम्मामा सवारी छाड्न भन्दा नछाडी रातभर नियन्त्रणमा राखेको भन्दै उजुरी परेको हो । प्रदेश प्रहरी कार्यालयले निर्देशन दिए पनि एसपी सिलवालले चालकलाई छाडेका थिएनन् ।
त्यतिमात्र नभएर सिलवालमाथि चोरीका सवारी नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा बुझाउनु पर्नेमा बुझाउनुभन्दा आफैं प्रयोग गरेको आरोपसमेत छ । सामान्यतया चोरी वा जफत भएका गाडी ट्राफिक महाशाखा वा अनुसन्धान इकाईमार्फत भन्सारमा बुझाउने प्रचलन भए पनि सिलवालले आफुखुसी प्रयोग गरेको उजुरीमा उल्लेख छ ।
यस्तै गत ११ साउनमा सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रक पथलैया चेकपोस्टमा नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको गम्भीर उजुरी पनि परेको छ । यसबारेमा समितिले विशेष अनुसन्धान थालेको बताइएको छ ।
छानबिन समितिले आरोपबारे लिखित जवाफ पेश गर्न एसपी सिलवाललाई समय तोकेर जानकारी गराइसकेको छ । जवाफ प्राप्त भएपछि समितिहरूले प्रतिवेदन तयार पार्ने र आवश्यक कारबाहीबारे निर्णय हुने प्रहरी स्रोतले जनाएको छ ।
जथाभावी चेकिङ राख्न निर्देशन दिन्थे, सई पुजारा सल्लाहकार
पछिल्लो समय मधेस प्रदेश प्रहरी कार्यालयमा सबैभन्दा बढी गुनासो ट्राफिकको आउने गरेको बताइन्छ । त्यतिमात्र नभएर एसपी सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयस्थित उजुरी छानबिन शाखामा समेत विभिन्न उजुरीहरु परेको पाइएको छ ।
अनुशासनहिन समेत रहेका एसपी सिलवालले पछिल्लो समय भारतीय गाडीहरुलाई अनावश्यक दुःख दिने गरेको पनि उजुरीमा भनिएको छ । भारतीय गाडीलाई दुःख दिने नियतले नै सिलवालले एउटै रुटमा २-२ किलोमिटरमा चेकिङ राख्ने गरेको समेत उजुरीमा खुलाइएको छ ।
त्यतिमात्र नभएर अस्थायी पोष्ट जहाँ सीसीटिभी छैन, त्यस्तो ठाउँमा एसपी सिलवालले चेकिङ बढी राख्न निर्देशन दिन गरेको समेत खुलेको छ । त्यस्तो ठाउँमा चेकिङ राख्दा आर्थिक कारोबार गर्न सजिलो हुने भएकाले माथिको आदेश पालना गर्दै सडकमा खटिने ट्राफिक प्रहरीहरु चेकिङमा खटिन्थे ।
एसपी सिलवालको सल्लाहकारको रुपमा कार्यालयमा कार्यरत सई कृष्ण पुजारा रहेको बताइन्छ । उनै पुजाराले प्रशासनको समेत जिम्मेवारी लिएर कहाँ चेकिङ राख्ने कहाँ कसलाई खटाउने, कसलाई कहिले ड्युटीमा राख्ने ? जस्ता विषयणमा निर्णय लिने गरेको बताइन्छ ।
यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले गत आर्थिक वर्ष २०८१/०८२ मा २३ करोड राजस्व संकलन गरेको थियो । तर, यो आर्थिक वर्ष १८ करोड मात्र राजश्व संकलन गरेको छ । यसरी सिलवालको कार्यकालमा राजश्वमा समेत गिराहव आएको छ ।
त्यतिमात्र नभएर गम्भीर दुर्घटनासमेत २३ प्रतिशतले बढेको छ भने मृत्युदर पनि ९ प्रतिशतले बढेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यसरी सडक दुर्घटनादेखि राजश्व संकलनमा खटिनुपर्ने ट्राफिक प्रहरी पछिल्लो समय कमाउतिर लागेपछि मधेसमा ट्राफिक प्रहरीलाई हेर्ने स्थानीयको दृष्टिकोण नै नकरात्मक रहेको बुझिन्छ ।
यो पनि पढ्नुहोस्…
पथलैया ट्राफिक प्रमुख सिलवाल कमाउधन्दामा, उजुरीपछि छानबिन समिति गठन
