काठमाडौं । पछिल्लो समय मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनमा खटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालको कार्यशैलीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन भएको छ ।
एसपी सिलवालविरुद्ध खुलेयाम असुली धन्दाबारे ३५ वटा उजुरी परेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति नै बनाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
समितिले एसपी सिलवाललाई भदौ १० गतेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ, र भदौ ११ गतेदेखि थप कारबाही अघि बढ्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
एसपी सिलवालका कर्तुतहरुबारे प्रदेश प्रहरी कार्यालय वाक्क त बनेकै थियो, मादक पदार्थ सेवन गरेर राति सवारी चलाउनेलाई जरिवाना गर्नुपर्नेमा रकम असुलीको मोहले गाडी नियन्त्रणमा राख्ने काम समेत भयो ।
यसपछि मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीकहाँ यो कुरा पुग्यो । डिआईजीले जरिवाना गरेर गाडी छाड्न निर्देशन दिँदासमेत गाडी छाडेनन् ।
बरु उल्टो डिआईजीको निर्देशनलाई लत्याउँदै पैसा बार्गेनिङमा जोडेर रोक्ने काम भएपछि मधेश प्रदेश प्रहरी सिलवालमाथि डण्डा बर्साउन समिति नै बनाउन बाध्य भएको हो । यो घटना हो ०८२ भदौ २ गतेको ।
देशको प्रमुख नाका मानिने पूर्व पश्चिम राजमार्ग, बागमती प्रदेशको राजधानी हेटौंडा, आर्थिक नगरी वीरगंज, मधेश प्रदेशको राजधानी जनकपुरसँगै पूर्वपश्चिम यातायात व्यवस्थापनको इपिसेन्टर पथलैयामा ट्राफिक प्रमुखले नै बदमासी गरेर प्रहरी संगठनको बदनाम हुने अवस्था बनेपछि सिलवालमाथि छानबिन शुरु भएको छ ।
सिलवाल रकम असुलीमा लिप्त रहेको आरोप
क्षेत्राधिकार बाहिर गएर तस्करीका गाडी पक्राउ गर्ने र बार्गेनिङ गरी असुली धन्दा चलाउने गरेपछि एसपी सिलवालविरुद्ध प्रदेश प्रहरी कार्यालयमा बग्रेल्ती उजुरीका चाङ रहेको बताइन्छ ।
पछिल्लो समय भन्सार चोरी पैठारीका गाडी रोकेर बार्गेनिङ गर्ने, कुरा नमिले राजश्व अनुसन्धान कार्यालय वा भन्सार पठाउने काममा एसपी सिलवालको सक्रियता बढेको पाइएको थियो ।
साउन ११ गते पहिलेको साझा ट्रान्सपोर्ट भन्ने हाल सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ डिल गरेर छाडेको विषय मधेश प्रदेश प्रहरी कार्यालयसम्म पुगेको थियो ।
ट्रान्सपोर्टमा सामान मगाउने रक्सौलका व्यापारी बृजकिशोर गुप्ता र रामाशंकरले काठमाडौंबाट रकम पठाएर ट्रक छुटाउनु परेको थियो । ट्रान्सपोर्टका मालिक बालकृष्ण पोखरेल हुन् ।
वीरगंज, बारा, रौतहटलगायतका मधेश प्रदेशका सीमावर्ती जिल्ला तथा पूर्वबाट आउने ट्रान्सपोर्टका गाडी रोकेर बार्गेनिङ बढाएको सिलवालमाथि आरोप छ । श्री दुर्गा ट्रान्सपोर्टका व्यवसायी मदन गुप्ताले पछिल्लो समय प्रहरी र पथलैया ट्राफिकले दुःख दिन थालेको गुनासो गरेका थिए ।
डिआईजीको आदेश नमान्ने एसपी सिलवालले मधेश प्रदेश प्रहरी कार्यालय मातहतका ८ वटा जिल्ला ट्राफिक कार्यालयलाई कुनै सवारी साधनलाई कारबाही गर्न परे आफूलाई जानकारी गराएर मात्र कारबाही गर्न उर्दी नै जारी गरेका थिए ।
जसले गर्दा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरु एसपी सिलवालको कदमले आजित भएका थिए ।
यता यसरी ६३ टनका सामान बोक्ने लहरी दौडिन थालेपछि २१ टन बोक्ने ट्रिपर व्यवसायीहरु थला परेका थिए । किस्ता तिर्न नसक्ने अवस्था बनेको थियो ।
ठूला कम्पनीहरुले सस्तोमा सामान बोक्न लहरी प्रयोग गर्ने र जरिवाना गर्नु पर्नेमा रेट तोकेर असुलीपछि ट्रिपर व्यवसायी मारमा परेका थिए र प्रहरी उपरीक्षक सिलवालसँग रुष्ट थिए । उनीहरुले एसपी सिलवालविरुद्ध नाराबाजी नै गरेका थिए ।
चोरीको स्करापिओ प्रयोग गर्थे सिलवाल
चोरीका सवारीसाधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने व्यवस्था छ । भन्सारमा बुझाएपछि भन्सारले लिलाम गर्छ र देशलाई राजश्व प्राप्त हुन्छ ।
तर प्रहरीले नै चोरीको साधन पक्राउ गरेर भन्सार नबुझाई आफूले व्यक्तिगत रूपमा प्रयोग गरेको उदाहरणमा पनि सिलवाल जोडिएका छन् ।
सिलवालले चोरीको स्कारपियो गाडी पक्राउ गरेर भन्सार नबुझाई व्यक्तिगत रूपमा प्रयोग गरिरहेको पाइएको हो ।
उनी सिन्धुली प्रहरी प्रमुख हुँदा पनि विवादमा तानिएका थिए । जसकारण छोटो समयमा सिन्धुलीबाट तानिएका अधिकृत हुन् ।
