काठमाडौं । चितवनको कालिका नगरपालिका–७ मा रहेको जुटपानी प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउने ६ वर्षदेखिको कसरत हो ।
२०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले जुटपानी प्रहरी चौकीको ११ कोठे नवनिर्मित भवनको उद्घाटन गरे, त्यसबेलादेखि यस चौकीलाई इलाका प्रहरी कार्यालय बनाउन पहल गरिएको थियो ।
तत्कालीन गृहमन्त्री बादलले जुटपानी प्रहरी चौकीलाई इलाका बनाउन आश्वासन पनि दिएका थिए । तर, ६ वर्षपछि बल्ल जुटपानी प्रहरी चौकीलाई स्तरोन्नति गरी इलाका प्रहरी कार्यालय बनाइएको छ ।
हाल प्रहरी सहायक निरीक्षकको दरबन्दी रहेकोमा सोमबारदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले काम सुरु गरेका छन् । सो इलाकाको प्रमुखमा प्रहरी निरीक्षक मनिस श्रेष्ठलाई खटाइएको छ ।
उनी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट जुटपानीमा सरूवा भएका हुन् । इन्स्पेक्टर श्रेष्ठले कालिका नगरपालिकाको १३ वटा वडासहित इच्छाकामना गाउँपालिका(७ समेत कार्यक्षेत्र रहने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार चौकीलाई प्रस्तावित इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको हो । सो कार्यालयमा अब कम्तीमा ३३ जना प्रहरी कर्मचारीको दरबन्दी हुनेछ ।
कालिका नगरप्रमुख विनोद रेग्मीले लामो प्रयासपछि जुटपानी प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तोरन्नती गरिएको बताए । नगरप्रमुख रेग्मीले चौकी प्रहरी निरीक्षकको कमान्डमा चलेपछि नगरवासीले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाउने अपेक्षासमेत गरे ।
‘यहाँको सुरक्षामा मुख्य चुनौती लागूऔषध दुव्र्यसन हो, यसको नियन्त्रण गर्नुछ । चोरी, डकैती, लुटपाट र हिंसाको घटना अब नियन्त्रण हुने विश्वास लिएको छु’, प्रमुख रेग्मीले भने, ‘चौकीको स्तरोन्नति भएसँगै समग्र कालिका नगरपालिकाको शान्ति सुरक्षा बलियो बन्ने, अमनचयन हुने नगरवासीको विश्वास छ ।’
उनले घटनाका मुद्दा दर्तासमेत यस चौकीबाट हुनुपर्ने बताए । गत साउन १ गतेदेखि इलाका प्रहरी कार्यालय भण्डारा र माडीमा मुद्दा दर्ता प्रक्रिया सुरू भएको छ ।
यता, जुटपानीका इन्स्पेक्टर श्रेष्ठले नगरवासीको सेवामा दिनरात खटिने र शान्ति सुरक्षाको वातावरण बनाउने प्रतिबद्धता गरे । उनले भने, ‘यो ठाउँमा लागूऔषध दुव्र्यसनको समस्या बढी छ, आपराधिक घटना पनि यहाँ यदाकदा भइरहेका छन्, अध्ययन गर्दैछु । पक्कै नगरवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन लाग्नेछु ।’
जुटपानी चौकी २०३६ सालमा स्थापना गरिएको हो ।
