काठमाडौं । काठमाडौं प्रहरीले महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले यसपटकदेखि महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिक रूपमा पुरस्कारको थालनी गरिएको जानकारी दिए ।
यसपालि नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमीला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान प्रदान गरिएको उनले बताए ।
प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, सांठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट तोकिएका काम कारबाही तदारुकताका निर्वाह गरेको भन्दै कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको एसएसपी अधिकारीले जानकारी दिए ।
नेपाल प्रहरीले केही दिन अघि मात्रै महिला प्रहरी सम्मेलन सम्पन्न गरेको थियो । सोही सम्मेलनले पनि महिला प्रहरीको भूमिकालाई प्रशंसा र प्रोत्साहन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
