काठमाडौं । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको विशेष टोलीले सिन्धुली घर भएका गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले गौरवको साथबाट सो अवैध रकम र पैसा गन्ने मेसिन समेत बरामद गरेको जानकारी दिए । यस्तै उनको साथबाट १ किलो ४०० ग्राम गाँजा समेत बरामद गरेको छ ।
अवैध रकमको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ । पक्राउ परेका स्याङ्तान अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
उनी अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले बताए ।
अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग गरिएको ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको छ । उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
