काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार, सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि मृत शरीरको व्यवस्थापन गरेका थिए । विवाह पूर्वका रुबीका प्रेमीका रुपमा चिनिएका लक्ष्मण घट्नापछि फरार छन् ।
प्रहरी स्रोतका अनुसार, पासवानले शव ठेगान लगाउन गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । शवसहितको सुटकेस ई–रिक्सामा बोकेर पासवान बरहवा पुल पार गर्ने क्रममा ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो ।
त्यसपछि चालकले अर्को ई–रिक्सा बोलाई दिने प्रयास गरे पनि पासवानले अर्को इ–रिक्सा प्रयोग गर्न मानेनन् । त्यसपछि उनी सुटकेस बोकेर पैदल अघि बढेको खुलेको छ ।
ई–रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। उनले बताएअनुसार आरोपितले गंगा पिप्रासम्म ५ सय रुपैयाँमा रिक्सा भाडामा लिएका थिए ।
ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ। ‘हामी अनुसन्धानको निस्कर्षतिर पुगेका छौँ । अनुसन्धानका सबै पाटो पोजेटिभ छन्,’ एक अनुसन्धान अधिकारीले भने ।
अनुसन्धानमा खटिएको प्रहरीले गौर–५ को बालमन्दिरको पछाडि रहेको घरमा रुबीकुमारीका चप्पल लगायतका व्यक्तिगत सामान फेला परेको जानकारी दिएको छ । प्रहरीका अनुसार, घटना घटेको दिनदेखि पासवान सम्पर्कविहीन छन् र उनको खोजी कार्य जारी छ ।
२६ वर्षकी रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ । शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन् ।
तर त्यसै राति गौर नगरपालिका ९ मुडवलवा गेटनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । राति नै स्थानीयले प्रहरीलाई खबर गरे पनि प्रहरीले आइतबार बिहान सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो ।
