काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को अवकाश तीन कारणले हुने गर्छ – एक ३० वर्षे सेवाअवधि, दोस्रो चारवर्षे पदाअवधि र तेस्रो ५८ वर्षे सेवाअवधि । योमध्ये पहिला जुन आउँछ, त्यही व्यवस्थाअनुसार आईजीपी अनिवार्य अवकाशमा जान्छन् ।
हालका आईजीपी दिपक थापा माथिको तीन अवस्था कायम रहेमा १० दिनपछि अनिवार्य अवकाशमा जाँदैछन् । आगामी १८ भदौमा उनी ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जानेछन् । उनी गत ४ चैत २०८१ मा आईजीपी नियुक्त भएका थिए ।
डेढ महिना अघिसम्म आईजीपी थापा ३० वर्षे सेवाअवधि हट्नेमा ढुक्क थिए । कारण थियो– विगतका आईजीपीको कार्यकालमा भन्दा अहिले आवश्यक प्रक्रिया धेरै अघि बढ्नु । हुन पनि योपटक ३० वर्षे सेवाअवधी हट्ने प्रक्रिया संसद्सम्मै पुगेको थियो ।
थापाको अवकाश मिति नजिकिइसकेकाले संसद्बाट ३० वर्षे सेवाअवधि हटाउन अब सम्भव छैन । आईजीपी थापासँगै हालका तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी, टेक तामाङ र कृष्णहरि शर्मा पोखरेल पनि अवकाश हुनेछन् ।
उनीहरु पनि ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुनेछन् । अहिले ३० वर्षे हटाउनमा उनीहरुको पनि जोड थियो, तर सफल हुन सकेनन् ।
१० दिनपछि नयाँ आईजीपी
सरकारले ‘उपयुक्त लागेको’ व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । हालका आईजीपीको पदावधि १० दिन बाँकी रहँदा नयाँ आईजीपी नियुक्तिका लागि सरकारले आन्तरिक प्रक्रिया सुरु गरे पनि अन्तिम टुंगो लगाएको छैन ।
गृहमन्त्रालय स्रोतका अनुसार, सम्भावित उम्मेदवारको सूची तयार पारी उनीहरूको कार्य सम्पादन मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । प्रतिवेदन तयार भएपछि गृह मन्त्रालयलले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ ।
मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषदको बैठकले प्रहरी महानिरीक्षक नियुक्तको निर्णय गर्छ । देशको आन्तरिक सुरक्षा व्यवस्थापनको ‘बागडोर’ सम्हाल्न पाउने भएकाले प्रहरी प्रमुखको पदका लागि ‘मरिहत्ते’ गर्ने चलन अहिलेमात्र होइन पहिलेदेखि नै छ ।
राजनीतिक नेतृत्वमा समेत प्रहरी प्रमुखको चयनलाई लिएर ‘हानथाप’ नै चल्ने गर्छ । तर, सरकारले सधैं वरीयताअनुसार नै आईजीपी बनाएको अवस्था छैन । धिरज प्रताप सिंह १८ महिना जुनियर हुँदाहुँदै पनि आईजीपी नियुक्त भएको उदाहरण तपाईहामी माझ छ ।
त्यसैले सरकारले उपयुक्त लागेको पात्रलाई आईजीपी नियुक्त गर्ने गरेको छ । जसको लागि ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु प्रतिस्पर्धामा छन् । उनीहरु ३ लटमा एआईजी भएका हुन् ।
एआईजीहरु चन्द्रकुवेर खापुङ, दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह आईजीपीको दौडमा छन् । सबैले आ आफ्नो ठाउँबाट लबिङ गरिरहेका छन् । हेरौं यो खेलमा को सफल हुनेछन् ।
खापुङको सम्भावना बलियो
एआईजीको बरियतामा पहिलो नम्बरमा खापुङ छन् । बरियतामा अगाडि रहेका कारण सरकारले उनलाई नै आईजीपी बनाउने सम्भावना बढी छ । संगठनभित्र उनी इमान्दार र विवादरहित अधिकृतका रूपमा चिनिन्छन् ।
खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा छन् । यसअघि उनले कोशी प्रदेश प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड सम्हाल्दा प्रभावकारी काम गरेका थिए ।
यदि खापुङ आईजीपी बने भने उनको कार्यकाल अढाई महिनाभन्दा लामो रहने छैन । उनी २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका भएकाले ३० वर्षे सेवा अवधिले आगामी कात्तिक २६ गते उनी पनि अनिवार्य अवकाशमा जानेछन् ।
यसरी उनी प्रहरी इतिहासमै दोस्रो सबैभन्दा छोटो समयका लागि आईजीपी बन्ने सम्भावना छ । हालको अवस्थामा भने खापुङकै नेतृत्वमा प्रहरी संगठनले ३२औँ आईजीपी पाउने सम्भावना लगभग सुनिश्चित बनेको छ ।
खापुङपछि भने आईजीपीको प्रतिस्पर्धा चर्को हुने देखिएको छ । एआईजी कार्की, अधिकारी र शाहबीचको प्रतिस्पर्धा प्रमुख हुने अनुमान गरिएको छ । उनीहरु तिनैजना कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन् ।
