काठमाडौं । विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाएर बलात्कार गरेको अभियोगमा धनुषाका एक पुरुषलाई दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले पीडितको मञ्जुरीबिना भएको जबरजस्ती करणी पुष्टि गर्दै सो सजाय तोकेको हो । अदालतले गत जेठ १३ गते प्रतिवादीलाई दोषी ठहर गरेको र जेठ ३० गते सजाय निर्धारण गरी पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।
०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएका दम्पतीबीच केही समयमै घटना घटेको थियो । श्रीमानले हनिमुनका लागि काठमाडौं जान प्रस्ताव गरे पनि श्रीमतीले पर्याप्त चिनजान नभएको भन्दै अस्वीकार गरेकी थिइन् ।
तर, विवाह भएको एक सातापछि वैशाख २१ गते राति श्रीमान् मदिरा सेवन गरी कोठामा प्रवेश गरी खाना खान आग्रह अस्वीकार गर्दै चुकुल लगाई बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।
‘मलाई छुरा देखाएर जबर्जस्ती बेडमा लडाई, लगाएको लुगा फुकालेर बलात्कार गरी रगताम्मे बनाइयो,’ पीडितको उजुरीमा भनिएको छ ।
यस घटनामा पीडित गम्भीर घाइते भइ यौनांग च्यातिएको अवस्थामा जनकपुरस्थित रामजानकी अस्पतालमा १० दिनसम्म उपचार गराइएको थियो। थप उपचार भारतको सीतामढीमा पनि गरिएको थियो ।
पीडितको पक्षबाट बहस गर्ने अधिवक्ताले मेडिकल रिपोर्ट, अस्पतालका कागजात, स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूको बयान र प्रत्यक्षदर्शीहरूको बयानसहित पर्याप्त प्रमाण प्रस्तुत गरेका थिए । न्यायाधीश बर्देवाले दुवै पक्षका वकिलको बहस तथा वादी–प्रतिवादीको बयानका आधारमा अभियोग पुष्टि भएको ठहर गरे ।
अदालतको पूर्णपाठमा भनिएको छ, ‘पीडित र प्रतिवादीबीच हालसम्म पति–पत्नीको नाता रहेको, वारदातपछि पनि प्रतिवादीसँगै रहेकी, पीडितलाई उपचारका लागि प्रतिवादीले नै साथ दिएको देखिन्छ । प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (४) बमोजिम कसुर गरेको पाइएकाले ६ महिना कैद सजाय र दफा २२८ बमोजिम एक लाख क्षतिपूर्तिको रकम तिर्नुपर्ने ठहरिन्छ ।’
नेपालमा वैवाहिक बलात्कारलाई कानुनी अपराधका रूपमा व्याख्या गर्ने क्रमसँगै यस प्रकरणलाई महत्वपूर्ण मिसालका रूपमा लिइएको छ । अदालतले दाम्पत्य सम्बन्ध कायम रहेको अवस्थामा समेत सहमति विना भएको यौन सम्पर्कलाई आपराध मानेर सजाय तोकेको हो ।
