कृष्ण बहादुर तामाङ
नेपाल प्रहरीको गौरवमय इतिहासमा २०८२ साल श्रावण महिना एउटा अविस्मरणीय पन्ना बनेर जोडिएको छ ।
प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमाललाई प्राप्त भएको”Best Police of the Month” को सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र होइन, संगठनकै समग्र पहिचान, राष्ट्रकै आत्मविश्वास र नागरिकप्रतिको सुरक्षाबोधलाई नयाँ जीवन दिने क्षण बनेको छ ।
डिएसपी रिमालले प्रहरी संगठनबाट पाएको जिम्मेवारीलाई व्यवसायिक निष्ठा, सांगठनिक नीति र कार्यप्रणाली अनुसार अत्यन्तै कुशलतापूर्वक पूरा गर्नुभयो ।
अपराध अनुसन्धान र प्रहरी कामकारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारणलाई सुरक्षाको अनुभूति गराउने खालका कार्य निरन्तर गर्दै आउनुभएको छ । उहाँले प्रहरी संगठनको छविलाई नागरिकका आँखामा अझै उज्यालो बनाउनुभएको छ ।
एसएसपी विश्व अधिकारीको ऐतिहासिक हस्ताक्षर
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले आफ्नै हातले डिएसपी रिमाललाई प्रशंसा–पत्र प्रदान गर्नु, केवल एउटा औपचारिक कार्यक्रम होइन ।
यो एउटा ऐतिहासिक निर्णय हो- योग्यतालाई समयमै कदर गर्ने, संगठनभित्र कर्मठतालाई उच्च स्थान दिने र प्रहरीलाई जनताको मुटुसम्म पुर्याउने निर्णय पनि हो ।
एसएसपी अधिकारीको यो कदमले प्रहरी संगठनलाई नागरिकसँग अझ नजिक पुर्याएको छ । उहाँले देखाउनुभएको साहसले योग्यतालाई सम्मान गर्ने परम्परालाई अझ सबल बनाएको छ ।
घटनाभन्दा पाँच मिनेट अगाडि पुग्ने प्रहरी
नेपाल प्रहरीसँग जोडिएको एउटा चर्चित भनाइ छ, ‘घटना भएको पाँच मिनेटमै प्रहरी पुग्छ ।’ तर डिएसपी रिमालले यो भनाइलाई यति गहिरो र असाधारण अर्थ दिएका छन् कि अहिले स्थानीय समाजमा यसको नयाँ परिभाषा जन्मिएको छ ।
स्थानीय बुद्धिजीवीहरूको शब्दमा : ‘डिएसपी रिमाल भनेको घटना घट्नु भन्दा पाँच मिनेट अगाडि नै त्यहाँ उपस्थित हुने प्रहरी हुन् ।’
उहाँको अग्रिम सक्रियता र अद्वितीय सजगता यस्तो स्तरमा पुगेको छ कि अपराधी मनोवृत्ति बोकेका व्यक्तिहरू घटन नघट्दै डरले जकडिन्छन्, अपराध गर्ने योजना नै ध्वस्त हुन्छ ।
यसकारण यस क्षेत्रका नागरिकहरू निडर, ढुक्क र आत्मविश्वासी भएका छन् ।
डिएसपी रिमालको नेतृत्वमा प्रहरी वृत्त बौद्धमा यस्तो अवस्था बनेको छ- जहाँ घटना हुनसक्ने सम्भावना नै जन्मिन पाउँदैन, किनभने प्रहरी पहिल्यै त्यहाँ पुगिसकेको हुन्छ ।
यसरी, ‘घटना हुनु भन्दा पाँच मिनेट अगाडि पुग्ने प्रहरी’ भन्ने नयाँ परिभाषा, डिएसपी रिमालको कर्मठता र वीरत्वबाट जन्मिएर यो शब्द नेपाल प्रहरीको गौरव बनेको छ ।

जनताको प्रहरी
डिएसपी रिमालले प्रहरी वृत्त बौद्धमा आएपछि पैदल गस्तीलाई आफ्नो दिनचर्या बनाउनु भएको छ ।
गल्लीगल्ली, मोहल्ला, बजार—जहाँसुकै उहाँको उपस्थिति नागरिक सुरक्षाको ढाल बनेको छ । चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर अपराधमुक्त समाज निर्माणमा उहाँले ऐतिहासिक योगदान दिनुभएको छ ।
यसकारण स्थानीय समुदाय, जनप्रतिनिधि, बुद्धिजीवी, व्यवसायी मात्र होइन, ड्युटीमा खटिएका प्रहरी र ट्राफिक प्रहरीसमेत उहाँको अत्यन्तै प्रशंसा गर्छन् । प्रहरी–नागरिक सम्बन्धलाई आत्मीयताको स्तरमा पुर्याउने यति सफल प्रहरी अधिकारी नेपाल प्रहरीमा दुर्लभ छन् ।
राष्ट्रका लागि गहिरो सन्देश
डिएसपी रिमालले यस क्षेत्रमा गर्नुभएको योगदान केवल एक वर्षको उपलब्धि होइन, नेपाल प्रहरीको भविष्यको बाटो हो ।
त्यस्तै, एसएसपी विश्व अधिकारीले योग्यतालाई पहिचान गरेर असल प्रहरीलाई सम्मान गर्ने काम गर्नु, संगठनलाई नयाँ विश्वास र प्रेरणा दिने साहसिक कदम हो ।
अब राष्ट्रसँग एउटा मात्र विकल्प छ, यस्ता प्रहरी–नायकहरूको योगदानलाई अझ व्यापक जिम्मेवारी र उच्च सम्मानमा परिणत गर्नु ।
स्थानीय समुदायको दृढ आवाज
हामी स्पष्ट शब्दमा भन्छौं- डिएसपी रिमाल हुनु भनेको अपराध नजिकै आउनै नपाउनु हो । एसएसपी विश्व अधिकारी हुनु भनेको योग्यतालाई सम्मान गर्न साहस देखाउने नेतृत्व हो ।
नेपाल सरकारले अब ढिलाइ गर्न मिल्दैन । यस्ता प्रहरी – नायकहरूको योगदानलाई राष्ट्रकै सम्पत्ति ठानेर योग्य स्थानमा पुर्याउनु नेपाल सरकारको नैतिक, संगठनात्मक र राष्ट्रिय कर्तव्य बनेको छ ।
डिएसपी रिमालले नागरिकलाई दिएको सुरक्षाको अनुभूति नेपाल प्रहरीको वास्तविक पहिचान हो । एसएसपी अधिकारीले योग्यतालाई सम्मान गरेर देखाएको साहस प्रहरी संगठनको उज्यालो भविष्य हो ।
अब नेपाल सरकारले ऐतिहासिक निर्णय गरेर यी प्रहरी–नायकहरूको योगदानलाई अझ उचाइमा पुर्याउनैपर्छ । त्यही नै संगठन, राष्ट्र र जनताको सच्चा सम्मान हुनेछ ।
