- द्वारिका प्रसाद घिमिरे
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन ऐन मिति २०८२वैशाख २४ मा प्रमाणिकरण भएसँगै चेक भुक्तानी सम्बन्धि सम्पुर्ण कसुरहरु
अनुसूची-१ अन्तर्गतको फौजदारी कसुर भएबाट पहिला जस्तो १ वर्ष हदम्याद समाप्त भएका चेकहरु विनिमय अधिकार पत्र ऐन २०३४ अन्तर्गत ५ वर्ष हदम्यादले सिधै देवानी प्रकृतिको कसुरमा सम्मानित अदालतमा प्रवेश पाउने अवस्था विद्यमान छैन ।
केवल अब चेक अनादरका मुद्दाहरुको अनुसन्धान नेपाल प्रहरीबाटै हुने भएकोले अरु अनुसन्धान पद्दतीअनुसार नै हुनेछ भने चेकलाई अनादर प्रमाणित गराउने फरक किसिमको कार्यविधि आएको छ ।
संशोधित ऐन अनुसार मिति २०८२/०३/२६ मा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेखी नयाँ कार्यविधी पठाइसकेको छ ।
यसरी अबको अनुसन्धान पद्धतिमा चेक अनादर प्रमाणित भएको मिति र स्थानलाई आधार मानी हदम्याद र घटनास्थल कायम गरी अनुसन्धान प्रक्रिया र सम्मानित अदालतसम्म मुद्दा जाने कुरा हालको व्यवस्थामा देखिन आउँछ ।
मुख्यतया यस प्रकृतिका मुद्दाहरुमा अन्तिम समयसम्म समेत मिलापत्र गर्न सकिने प्रावधानको व्यवस्था ऐनले गरिदिएको छ भने विगो, ब्याज र कैदको स्पष्टता समेत संशोधित ऐनले गरिदिएको छ ।
चेक अनादर प्रमाणित कार्यविधीले उजुरी प्रकृयामा सजिलो बनाई दिएको छ भने अनादर प्रमाणित नगरेसम्म बैंकको भूमिका महत्वपुर्ण देखिएको छ ।
पहिला जस्तो ३ पटक बैंकमा चेक पेश गर्नुपर्ने स्थिति नरहेको र धारकले १ पटकको अनुरोधमा नै प्रमाणित हुने व्यवस्था राष्ट्र बैंकको कार्यविधीले निर्धारण गरिदिएको छ ।
चेक अनादर प्रमाणित गर्ने कार्यविधि २०८२को मुख्य व्यवस्था
१. चेक सटहीको लागि चेक धारकले आफ्नो खाता भएको जुनसुकै बैंक वा वित्तीय संस्थामा पेश गर्नसक्ने ।
२. चेक सटही नभएमा जुन बैंकको चेक हो, सोही बैंकमा अनादर भएको प्रमाणितको लागि छुट्टै निवेदन साथ पेश गर्नुपर्ने । (जुन शाखाको भए पनि अनादर प्रमाणित) ।
३. चेक अनादर प्रमाणिकरणको लागि प्राप्त भएको हकमा ४५ दिनभित्र रकम जम्मा गर्ने म्याद दिई खातावालालाई जानकारी दिने ।
४. ४५ दिनसम्म पनि पर्याप्त रकम मौजदात नभएमा ३ दिन भित्रमा चेक अनादर प्रमाणित गरी धारकलाई फिर्ता दिनुपर्ने ।
५. अनादर प्रमाणित भए चेकको कुनै बैंक वा वित्तिय संस्थाले खातामा रकम भएपनि सटही गर्न नपाउने ।
६. चेक अनादर प्रमाणित भए पश्चात समेत चेक जारी गर्नेले धारकलाई भुक्तानी दिई चेक फिर्ता लिन बाधा नपर्ने ।
७. गलत हस्ताक्षर ,खाता बन्द ,खाता रोक्का, स्टप पेमेन्ट भएको चेकमा समेत खातामा भुक्तानीको लागि पर्याप्त मौजदात नभएमा चेक अनादरको व्यहोरा प्रमाणित हुनेछ ।
लेखक घिमिरे नेपाल प्रहरीका नायब उपरीक्षक हुन् ।
