काठमाडौं । १५ दिनअघि सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्ने लहान नगरपालिका–२४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घटनाको सुराक फेला पार्न सिरहा प्रहरीले प्रयोग गरेको मुख्य प्रमाण भने घटनास्थलमा भेटिएको एउटा चप्पल हो, जसले अनुसन्धानलाई निर्णायक मोडमा पुर्याएको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । सिरहाका एसपी अनन्तराम शर्माका अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले वृद्धको घर पसेका थिए ।
घरभित्र छिरेपछि फनिलालले प्रतिरोध गर्न खोजेपछि चौधरीले साथमा रहेको खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटनास्थलबाट एउटा चप्पल र खुकुरी बरामद गरिएको थियो ।
उक्त चप्पलको आधारमा अनुसन्धान अघि बढाइएको थियो । सीसीटीभी फुटेजमार्फत घटनास्थल वरिपरि देखिएको व्यक्तिको चालढाल र लगाएको चप्पल मिल्दा प्रहरीको शंका तीव्र भएको हो ।
यही सुराकलाई पछ्याउँदै जाँदा साउन २३ गते प्रहरीले मण्डललाई पक्राउ गर्यो । सोधपुछका क्रममा मण्डलले घटनामा आफनो संलग्नता स्विकार ग रे। उनकै बयानका आधारमा साउन २७ गते महेश पनि पक्राउ परेका हुन् ।
अनुसन्धानमा इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा परिचालन थिए ।
प्रहरीले घटनास्थलबाट बरामद खुकुरी, चप्पल र अन्य फरेन्सिक प्रमाणसहित दुवैलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ७ दिनको म्याद लिएको छ ।
