काठमाडौं । मोरङको विराटनगरस्थित बाल सुधार गृहमा बुधबार केही बालबालिकाले सुर्ती सेवन गरेको आशंकामा जाँच गर्न पुगेका प्रहरी र बालबालिकाबीच झडप भएको छ । झडपका क्रममा एक वरिष्ठ हवल्दार घाइते भएका छन् ।
घाइते प्रहरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको छ ।
सुधारगृह प्रमुख गायत्रीप्रसाद ढकालका अनुसार, प्रहरीले जाँच सुरु गर्दा केही बालबालिकाले विरोध जनाएपछि सुरु भएको विवाद झडपमा परिणत भएको हो ।
घटनापछि सुधार गृहमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा अवस्था नियन्त्रणमा राख्न चारवटै सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेका छन् ।
सुधार गृह प्रशासनले १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेको आरोप लगाएको छ । ५० जनाको क्षमत रहेको सुधार गृहमा हाल १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना छन् ।
झडपको क्रममा केही बालबालिका भागेको अनुमान गरिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्दै थप कारबाही अघि बढाइरहेको जनाएको छ ।
