काठमाडौं । सुनसरीको झुम्का कारागारबाट सामूहिक बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका हुन ।
जेलर सुवासकुमार लामिछानेका अनुसार राति खत्रीले कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदारमार्फत प्रशासनमा आएको बताए ।
खत्रीलाई सामूहिक बलात्कारको घटनामा संलग्न रहेको अभियोगमा अदालतले २०८१ साउन २१ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । मुद्दाको किनारा लागेपछि जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो ।
घटनापछि सुनसरीका सिडीओ धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा निकायका प्रमुखहरू सम्मिलित टोलीले स्थलगत निरीक्षण गरी कारागारको सुरक्षा अवस्था मूल्यांकन गरेको छ ।
त्यस्तै, सहायक सिडीओ लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई कारागारको वस्तुस्थिति र कैदी फरार भएको घटनाको सम्पूर्ण विवरणसहित प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।
झुम्का कारागारमा खत्री फरार हुनुअघि १ हजार ७ सय ९५ कैदीबन्दी थिए । जेलर लामिछानेका अनुसार सुरक्षा निकायले खत्रीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म फेला पार्न सकेको छैन । ‘सबैतिर खोजी भइरहेको छ, तर हालसम्म फेला पार्न सकिएको छैन,’ उनले भने ।
