काठमाडौं । सुडानमा नर्वेजियन महिलामाथि यौन हिंसाको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका एक बरिष्ठ उपरीक्षक (एसएसपी)को पाँच वर्ष बढुवा रोकिएको छ । एसएसपी रविन्द्रराज कर्णजितको बढुवा रोकिएको हो ।
नर्वेजियन महिलाको संवेदनशील अंगमा हात लगाएवपापत उनलाई पाँच वर्ष बढुवामा रोक लगाइएको बताइएको छ । सुडानको शान्ति मिसनमा कार्यरत रहँदा एसएसपी कर्णजितले एक जना नर्वेजियन महिला अफिसरलाई संवेदनशील अंगमा छोएपछि यौनिक हिंसा गरेको आरोपमा कारबाही गरिएको हो ।
उनीमाथि विभागीय कारबाही नभए संयुक्त राष्ट्र संघले सशस्त्रलाई द्वन्द्वग्रस्त क्षेत्रका तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो । तर, राष्ट्रसंघको बारम्बारको पत्रचारले सिंगो संगठनको मानमर्दन भएको भन्दै विभागीय कारबाहीका लागि दबाब दिएपछि उनको बढुवा रोक्ने निर्णय गरिएको हो ।
११औँ डफ्फाको टोलीका एफपीयू कमान्डर एसएसपी कर्णजीतमाथि आफ्नो कार्यकाल सकेर स्वदेश फर्किनुभन्दा केही दिनअघि युएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनीमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल)मा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप थियो ।
कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै त्यहाँ हंगामा मच्चाएकी थिइन् । तर कर्णजीतले रोईकराई गरेर उजुरी गर्नबाट रोकेका थिए । तर( ती नर्वेजियन महिलाले पछि यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको अभद्र व्यवहार बारेको जानकारी सशस्त्र प्रहरी मुख्यालयले पाएको थियो ।
त्यसपछि मात्रै सशस्त्र मुख्यालयले यो विषयमा छानबिन थालेको बताइएको छ । छानबिनका क्रममा सशस्त्र मुख्यालयले उनीसँगै फर्किएको टोलीसँगसमेत सोधपुछ गरेको थियो । कारवाहीको प्रकृया अघि बढाइएको र त्यसको जानकारी राष्ट्रसंघलाई दिइएको थियो ।
यसैगरी हेडक्वार्टरको मानव स्रोतमा कार्यरत एसएसपी प्रवीण कँडेलमाथि पनि कारबाही भएको छ । कँडेलले नेतृत्वलाई सार्वजनिक चुनौती दिएबापत सशस्त्र नियमावली २०७२ को दफा १०८ बमोजिम कारवाही गरिएको छ ।
यसबाट कम्तीमा ६ महिनादेखि १ वर्षभित्र हुने बढुवामा उनी पछाडि पर्ने भएका छन् । उनी आफू बढुवा नपर्ने संकेत पाएपछि आर्इजीपी अर्यालविरुद्ध गालीगलौच गर्दै नेताहरुको घर घरमा धाइरहेका छन् ।
कँडेलले हल्चोकमा असार ११ र १२ गते आयोजित वरिष्ठ अधिकृतहरूको सम्मेलनमा आफ्नै हाकिमहरूविरुद्ध गृहमन्त्री रमेश लेखकको उपस्थितिमा अभिव्यक्ति मार्फत ‘वमिट’ गरेका थिए । संगठनभित्र सरुवा बढुवामा चलखेल र भेदभाव भएकोमा सबैभन्दा बढी नेता भेट्न जानेमा ठूलाबडा हाकिम नै रहेको र त्यस्तो कुराको अनुगमन कसैले नगरेको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालबाट कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो । उनले आईजीपी अर्याललाई आरोपित गरेका थिए । कँडेलले आफूलाई कसैले केही नगर्ने भन्दै नेतृत्वमाथि विना आधार र प्रमाण आरोप लगाएको भन्दै कारवाही ठेलिएको हो ।
आईजीपीले भने आफूलाई चुनौती दिइएको कुरा एक हप्तापछि मात्रै थाहा पाएपछि कारवाहीको डण्डा बर्सिएको हो । आर्इजीपी अर्यालले तीनै जना एआईजी, नारायण दत्त पौडेल, वंशी दाहाल र गणेश ठाडामगरलाई राखेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
सोहीबमोजिम पहिलो पटक २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । त्यसमा चित्त नबुझेपछि १२ घण्टे सोधियो । त्यसमा पनि सन्तुष्ट हुन नसक्दा दफा १०८ लगाइएर कारवाहीको प्रकृया अघि बढाइएको थियो ।
