काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलले बासी भात खुवाएको भन्दै आफ्नो खाना पकाउने भान्से शंकर कार्कीलाई कुटपिट गरेको आरोप लागेको छ । जसले गर्दा डिएसपी खरेलको आलोचना भइरहेको छ ।
डिएसपी खरेलले कुट्दै थिए, पछि सोही कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुपेश साहले पनि आएर कुट्न थालेको कार्कीले आरोप लगाएका छन् । जसले गर्दा इन्स्पेक्टर साहको पनि आलोचना भइरहेको छ ।
हेटौंडा रातमाटेमा दरबन्दी रहेको कार्यालय सहयोगी कार्की साउन ६ गते काज सरुवामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक हाजिर भएका थिए । डिएसपीले बासी भात खुवाएको भन्दै कार्कीले आफूलाई कुटपिट गरेर जागिरबाट निकालेको सूचना मिडियालाई दिएपछि घटना बाहिर आएको हो ।
तर, डिएसपी खरेलले भान्से कार्कीलाई कुटपिट गरेको आरोप पुष्टि हुने आधार देखिएको छैन । डिएसपीविरुद्ध अनेकन टिकाटिप्पणी भइरहँदा बरु उल्टो भान्से कार्कीले डिएसपी खरेललाई कुटपिट गरेको पाइएको छ । भान्सेको कुटपिटबाट डिएसपी खरेलको बाँया काँधमा चोट लागेको छ ।
डिएसपीको मेसमा इन्स्पेक्टरहरूलाई पनि खाना पकाउने गरिन्छ । डिएसीपी खरेल सात्त्विक भोजन गर्ने भएकाले लसुन प्याज केही खाँदैनन् । तर, खाना पकाउनुको सट्टा उत्तेजित व्यवहार देखाएर कार्कीलाई सोछपुछ गर्ने क्रममा आफूमाथि नै जाइलागेको डिएसपी खरेल बताउँछन् ।
डिएसपीमाथि नै कुटपिट गरेपछि भान्से कार्कीलाई विभागीय नीतिअनुसार सेवाबाट बर्खास्त गरिएको छ । सेवाबाटै बर्खास्त भएपछि कार्कीले मिडियाबाजी गरेको हुनसक्ने खरेलको बुझाइ छ ।
यस्तो थियो घटना ?
डिएसपी खरेलको भनाइ जस्ताको तस्तै
म सामान्य अवस्थामा बिहानको खाना १२ः३० देखि १३ः०० बजेभित्र खाने गर्छन् । साउन २२ गते १२ः१५ को समयमा काम विशेषले बाहिर जानुपर्ने भएका कारण आफूसँग खटिएका प्रहरी जवान विरेन्द्र बुढामार्फत सिनियर प्रहरी अधिकृत मेसमा खटिएका कार्कीलाई १२ बजेसम्म खाना बनाइसक्नु भनी आदेश दिए ।
तर, कार्कीले आदेशबमोजिम खाना बनाउनुको सट्टा उत्तेजित तबरले कुरा गरी खाना नबनाइ बसेछन् । जतिबेला वास्तै गरिन् । खाना नखाई बाहिर गए । १४ः०० बजेको समयमा कार्यालय फर्किएर प्रहरी जवान बुढामार्फत खाना मगाउँदा निज कार्कीले पुनः उत्तेजित व्यवहार देखाए ।
व्यवहार उत्तेजित देखाएपछि सोधपुछ गर्न थाले । सोधपुछ गर्न खोज्दा भान्से कार्कीले हातमा रहेको सेरामिक्स प्लेटले एक्कासी म माथि प्रहार गरे । प्लेट प्रहारबाट मेरो बाँया काँधमा चोट लागेको छ । लगत्तै कार्कीलाई नियन्त्रणमा लिन आदेश दिएँ र म अस्पताल गएँ ।
त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर क्वार्टर गार्डभित्र राखियो । क्वार्टर गार्डभित्र पनि कार्कीले होहल्ला गर्ने, गालीगलौज गर्ने जस्ता अमानवीय व्यवहार देखाएपछि यस्तो कार्य नगर्न भन्दै उक्त कार्यालयमा कार्यरत सुवेदार मेजर, हवल्दार मेजर तथा गार्ड कमाण्डहरुले सम्झाउन खोजेछन् । उनीहरुलाई समेत मुख लाग्ने, गाली गर्ने गरिरहे ।
त्यसपछि यस कार्यालयकै इन्स्पेक्टर साह गई सम्झाउन खोज्दा कार्कीले फिल्ड अधिकृत रहेका साहलाई त्यहिँ हातपात गरे । त्यसपछि इन्स्पेक्टर साहले उनलाई नियन्त्रणमा लिनको लागि २ थप्पड हानेछन् । यसरी नियन्त्रणमा लिएपछि कार्कीलाई विभागिय नीतिअनुरुप कारबाही गरिएको हो ।
के भन्छन् एसपी ?
यता, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले पनि डिएसपी र इन्स्पेक्टरलाई भान्से कार्कीले कुटेपछि आफूहरूले विभागीय कारबाही गरेको बताउँछन् ।
‘खाना पकाउने क्रममा डिएसपी साबले गाली गर्नुभएछ, मान्छे अलि शंका रहेछ डिएसपी साबलाई ट्रेले हानेछ, पछि नियन्त्रणमा लिएर क्वार्टर गार्डमा राखेर सोधपुछ गर्दा इन्स्पेक्टर साबलाई पनि दुई लात्ती हानेछ’, एसपी कार्कीले भने, ‘चेन अफ कमान्ड तोडेपछि माथिसम्म रिपोटिङ हुँदै उनलाई बर्खास्त गरिएको हो ।’
