काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ‘नेप्से एआई’ नामक एप प्रयोग नगर्न आग्रह गरेको छ ।
हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गरी सेयर बजारको विश्लेषण गरेर बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको भन्दै ब्यूरोले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको हो ।
ब्यूरोका अनुसार पीडितलाई उक्त एप डाउनलोड गराएपछि ‘रिमोट सेसन’ खोली मोबाइलमा पहुँच प्राप्त गरिन्छ । त्यसको केही क्षणमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिन्छ । यस्तै, पैसा चोरी भइसकेपछि मोबाइलमा रहेको सम्पूर्ण डाटा र एपहरू समेत मेटाइदिने गरिन्छ ।
केही दिनयता फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमार्फत शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भन्दै उक्त एप डाउनलोड गर्न प्रेरित गर्ने गरिएको पाइएको छ ।
एप इन्स्टल गरेपछि रिमोट सेसन खोली पीडितको बैंक खातामा भएको सम्पूर्ण रकम छिट्टै अन्यत्र पठाइने तथा डिजिटल उपकरणमा रहेको सबै डाटा मेटाइदिने, प्रमाण नष्ट गरिदिने जस्ता घटनाहरू बढ्दै गएको हुँदा प्रलोभनमा परी कुनै पनि अपरिचित लिङक तथा एपहरु नखोल्न र सतर्कता अपनाउन ब्युरोले आग्रह गरेको हो ।
हालैको एक घटनामा, एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीआईबीले यस्ता घटनाबाट बच्न टु-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने, पासवर्ड समय समयमा परिवर्तन गर्ने, अपरिचित लिंक वा विज्ञापनमार्फत एप इन्स्टल नगर्ने, रिमोट एक्सेस कसैलाई नदिने तथा आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्ने सुझाव दिएको छ ।
प्रहरीले यस्ता घटना भए तुरुन्त बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा खबर गर्न पनि आग्रह गरेको छ ।
