काठमाडौं । पर्साको वीरगन्ज कारागारमा सजाय भोगिरहेका एक कैदीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१७ खल्वाटोलका २८ वर्षीय राहुल कुमार साह तुराहा छन् ।
कर्तव्य ज्यानको मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका तुराहा २०७९ सालदेखि वीरगन्ज कारागारमा थिए । मंगलबार बिहान करिब सवा ८ बजे कारागारको जिममा शारीरिक कसरत गर्ने क्रममा उनी अचानक अचेत भएका थिए । प्रहरी र कारागारका स्वास्थ्यकर्मीले तुरुन्तै उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, तुराहालाई अस्पताल पु¥याउँदा मुखबाट रगतसहितको फिज निस्किरहेको र रक्तचाप शून्य थियो । प्रारम्भिक परीक्षणमा उनको अवस्था अति जटिल देखिएको र तुरुन्तै आईसीयूमा भर्ना गर्नुपर्ने भए पनि त्यतिबेला बेड खाली नभएकाले चिकित्सकले अन्य अस्पतालमा रेफरको तयारी गरेका थिए ।
तर, अवस्थाको गम्भीरता र बाटोमै मृत्यु हुने जोखिम देखिएपछि पर्साका सिडीओ गणेश अर्यालसँगको सल्लाहमा नारायणी अस्पतालमै एउटा बेड खाली गराएर आईसीयूमा भर्ना गर्ने प्रयास भएको थियो । त्यसक्रममा बिहान साढे ९ बजे उनको मृत्यु भएको डा. सिंहले जानकारी दिए ।
चिकित्सकले मृत्युको कारण पल्मोनरी इडिमा (हार्ट फेलियर) रहेको बताए ।
घटनापछि मृतकका परिवारजन र आफन्तले अस्पताल र प्रशासनको लापरवाहीका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको आरोप लगाएका छन् । मृतकका काकाका छोरा जगदीश साह तुराहाले डाक्टरले रेफर गरिसकेपछि एम्बुलेन्समा राखिएको बिरामीलाई प्रहरीले सीडीओको आदेश भन्दै अन्यत्र लैजान नदिएको दाबी गरे ।
‘हामीले धेरै गुहार लगायौं, तर कुरा सुन्ने कोही भएन । यसरी नै मेरो भाइको ज्यान गयो,’ उनले भने । परिवारजनले दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने चेतावनी दिएका छन् ।
तर, सीडीओ अर्यालले भने, बिरामीलाई कारागारबाट समयमै अस्पताल पु¥याइएको र चिकित्सकले सम्भव सबै प्रयास गरेको बताए । ‘आईसीयूमा बेड खाली गराएर तुरुन्तै उपचार सुरु गरियो, तर पहिलेदेखि नै अवस्था जटिल भएकाले बचाउन सकिएन,’ उनले भने ।
मृतकका आफन्तसँग छलफल गरेर गुनासो सुन्न आफू तयार रहेको अर्यालले जनाएका छन् । यसअघि पनि वीरगन्जमै एक पत्रकार र सशस्त्र प्रहरीका एसपीको समेत शारीरिक कसरतकै क्रममा यस्तै मृत्यु भएको घटना भएको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
