काठमाडौं । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गत ५ साउनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट डिएसपीमा बढुवा भएकाहरुको अझै पदस्थापना हुन सकेको छैन ।
सचिवस्तरको निर्णयबाट डिएसपीबाट एसपी र इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका अधिकृतलाई आईजीपी दिपक थापाले एक कार्यक्रमका बीच प्रहरी प्रधान कार्यालयमा साउन २१ गते दर्ज्यानी चिह्न लगाइदिएका थिए ।
तर, सोहीदिन एसपीबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका ११ जनाको पदस्थापना भइसकेको छ । तर, एसपी र डिएसपीको दर्ज्यानी चिह्न लगाएका उनीहरूको पदस्थापना ६ दिन पुग्दा पनि अझै हुनसकेको छैन ।
‘एसपी र डिएपीको दर्ज्यानी चिह्न लगाएर पनि पदस्थापन हुन यति धेरै समय किन लागिरहेको छ, म आफैं अचम्ममा परेको छु,’ मानव स्रोत विभागमा कार्यरत एक अधिकारीले भने ।
एसपी दर्जासम्म बढुवा र सरुवाको अधिकार आईजीपीसँग हुन्छ । बढुवा भएका एसपी/डिएसपीहरू कसलाई कहाँ पदस्थापन गर्ने भन्नेबारे तीव्र दबाब आएपछि पदस्थापन नै रोकिएको हो ।
पदस्थापनको निर्णयमा अस्वभाविक ढिलाई हुँदा प्रहरी संगठनभित्रको कामकारबाही नै प्रभावित भएको छ । स्रोतका अनुसार पदस्थानमा गृहमन्त्री रमेश लेखक र आइजिपी थापाबिच सहमति जुट्न सकेको छैन ।
पदस्थापनसँगै केही जिल्ला तथा इप्रकाका इन्चार्जहरुको पनि सरुवाको समय भएको छ । सरुवा र पदस्थापन एकैपटक गर्नुपर्ने भएकाले निर्णयमा ढिलाई भएको हुनसक्ने बताइएको छ ।
अवकाशको मुखमा रहेका आईजीपी थापा र गृहमन्त्री लेखक दुवैजना चलखेलकै आधारमा सरुवा-पदस्थापना गराउने खेलमा छन् । जसको मारमा बढुवा भएका प्रहरी अधिकारीहरु परेका छन् । दुवैजनाले आ-आफ्नो अडान नछाड्नाले सरुवा पदस्थापना हुन नसकेको हो ।
आफ्नो अधिकारभित्र पर्ने सरुवा पदस्थापनमा प्रहरी नेतृत्व निरिह बन्दा राजनीतिक दबाबले प्रहरी संगठन कमजोर बन्दै गइरहेको छ । जसको पछिल्लो उदाहरण डिएसपी र एसपीको पदस्थापन पनि एक हो ।
डिएसपीबाट अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का एसपीमा बढुवा भएका थिए ।
यस्तै इन्सपेक्टरबाट बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल डिएसपीमा बढुवा भएका थिए ।
