एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा पुनः नेपाली समुदायलाई स्तब्ध बनाउने घटना भएको छ । डालास सहरको डडली स्ट्रिटस्थित एक घरमा भएको गोली काण्डमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
स्थानीय समय अनुसार शनिबार बिहान २ः१० बजे ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए ।
त्यसपछि उनले सोही पेस्तोल प्रयोग गरी आत्महत्या गरेको डालास प्रहरीले जनाएको छ । रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको हो ।
प्रहरीका अनुसार ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए । उनले घटनाको एक दिनअघि फेसबुकमा लामो समयदेखि मानसिक तनावमा रहेको र काममा उपस्थित हुन नसकेको उल्लेख गरेका थिए ।
त्यहाँ उनले सरकारी सेवाहरू नपाएको, त्यसकै कारण परिवारलाई कठोर परिश्रम गर्न बाध्य भएको दुःख पनि पोखेका थिए ।
नेपाली समाज टेक्सस (एनएसटी)का महासचिव विजय भुसालका अनुसार ललित भुटानी शरणार्थी र रञ्जना नेपाली भएको प्रारम्भिक जानकारी छ । संस्थाले नेपालस्थित आफन्तसँग समन्वय गर्दै शव नेपाल पठाउने प्रयास गरिरहेको उनले बताए ।
यो घटना दुई महिनाअघि भर्जिनियामा भएको मनासस सहरको घटनासँग मिल्दोजुल्दो छ, त्यहाँ पनि एकै परिवारका चार नेपालीको गोली प्रहारबाट मृत्यु भएको थियो । दुवै घटनामा प्रहरीले प्रारम्भिक रुपमा ‘हत्या पश्चात आत्महत्या’ को निष्कर्ष निकालेको छ ।
