काठमाडौं । मकवानपुरको हेटौंडा–८, कमानेकी एक विवाहित युवतीले विवाहेत्तर सम्बन्धको बोझ थाम्न नसकेर विष सेवन गरी ज्यान दिएको घटना अहिले चर्चामा छ ।
हाडनातामा पर्ने प्रेमीले सम्बन्ध राखेर उल्टै भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेल गर्न थालेपछि उनले विष सेवन गरी मृत्युको बाटो रोजेकी हुन् ।
घटना साउन ९ गतेको हो । झारमार्ने विष सेवन गरेकी युवतीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई चितवनस्थित अस्पताल पुर्याइएको थियो । उनलाई भाई र उनै प्रेमीले अस्पताल पु¥याएका थिए ।
चिकित्सकले विषले शरीरको अधिकांश अंगमा असर गरिसकेको र उपचार सम्भव नभएको बताएपछि उनलाई हेटौंडास्थित चुरे हिल हस्पिटलमा स्थानान्तरण गरिएको थियो, जहाँ १३ दिनको उपचारपछि गत बुधबार राति करिब ११ बजे युवतीको मृत्यु भएको हो ।
मृतकका भाइका अनुसार, ४४ वर्षीय सुरज कार्कीले ‘सपना’ नामको फेसबुक आइडीमार्फत भिडियो बाहिर ल्याउने धम्की दिंदै साढे ३ लाख रुपैयाँ असुल गरेका थिए । कार्कीले ‘तेरो लोग्नेले गाडी बेचेको पैसा चाहिन्छ’ भन्दै समेत धम्क्याउने गरेको आरोप पनि छ । मृतकका पति गाडी चालक हुन् ।
सुरज कार्की पीडितको नातेदार हुन् । उनले पीडितलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ मा जागिर लगाइदिएका थिए । जागिर लगाइदिएपछि नै उनले निरन्तर मानसिक दबाब दिँदै ब्ल्याकमेल गरेको पीडित पक्षको दाबी छ ।
मृतकका परिवारले घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरेका छन् । प्रहरीले आरोपितलाई हदैसम्मको कारवाही गर्ने आश्वासन जनाएपछि मृतको अन्त्येष्टि आइतबार गरिएको छ ।
एसपी विश्वराज खड्काका अनुसार, आरोपी फरार छन् र उनको खोजी कार्य जारी छ । ‘उनको मोबाइल अफ छ, तर हामी नजिक पुगेका छौं,’ खड्काले भनेका छन् । घटनापछि आक्रोशित स्थानीयले कार्कीको घर जलाउने तयारी गरेपछि प्रहरीको सुरक्षा व्यवस्था मिलाइएको छ ।
अन्य केही महिलाले पनि कार्कीले आफूलाई आकर्षित गर्ने प्रयास गरेको बताएका छन् । तर थप उजुरी भने परेको छैन । कार्कीको परिवार अहिले टोलछिमेकमा सामाजिक रूपमा बहिष्कृत भएको बताइएको छ ।
