काठमाडौं । झापाको भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी घोडामाराको टोली आइतबार दिउँसो १ बजेको समयमा भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्ती बस्ने अन्दाजी ३० वर्षीय सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउनसुगर बरामद गर्न पुगेका थिए ।
सोही क्रममा कारोबारी श्रेष्ठकी श्रीमती र मामा ससुरालगायतले धारिलो हतियार (खुकुरी) निकालेर प्रहरीलाई लखेट्दै आक्रमणका प्रयास गरेका थिए ।
त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरको सहयोगमा घटनास्थलमा रहेका प्रहरी टोलीले श्रेष्ठसहित उनकी श्रीमती र मामा ससुरालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगेको बताइएको छ ।
प्रहरीले श्रेष्ठको साथबाट २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले घटनास्थलमा प्रहरीमाथि आक्रमणको प्रयास भएको बताए ।
ब्राउन सुगरसहित कारोबारी श्रेष्ठ समातिएको र थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले कारोबारी श्रेष्ठको नाम सार्वजनिक गरे पनि श्रीमती र ससुराको नाम भने सार्वजनिक गरेको छैन ।
यसअघि पनि वडा प्रहरी कार्यालय भद्रपुरको टोली लागूऔषधको सूचना पाएर कारोबारी श्रेष्ठको घरमा पुगेका थिए । त्यस बेला पनि उनीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गर्दै ब्राउनसुगर लुकाउन सफल भएका थिए ।
