काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
गत आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सम्झना मृत्यु घटनामा प्रहरीले पूजा भट्टलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सोही घटनामा श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त र सासू किरणलाई पक्राउ गरिसकेको थियो । अहिले आएर पवनकी दिदी पूजालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले फेला पारेको अडियोमा पूजाले आफ्नै भाइ पवनलाई ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै आदेश दिएकी छन् ।
पीडित पक्षको किटानी जाहेरीका आधारमा शुक्रबार कैलालीको धनगढी विमानस्थलबाट पूजालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराले जानकारी दिए ।
सबैजनालाई जिल्ला अदालतको आदेशमा म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ ।
