मिति : २०८२ साउन २३ गते शुक्रबार
स्थान : पशुपति आर्यघाट
समय : दिउँसो २ बजेर ५४ मिनेट
जतिबेला काभ्रे बनेपा- ९ का राम शाहीको अन्तिम दासंस्कार भइरहेको थियो । परिवार, आफन्त, साथीभाईलगायत थुप्रै शाहीको दासंस्कारमा सहभागी थिए । कोही भावविहिल अवस्थामा थिए त कोही शाहीको परिवारलाई सान्त्वना दिँदै थिए ।
शाहीको शव कल्कीको मन्दीरनजिकै २ नम्बर चित्तामा जलिरहेको थियो । उनको शवको अन्तिम दाहसंस्कारको लागि पशुपति क्षेत्र विकास कोषबाट खटिएका घाटे ब्राह्मण गणेश ढकाल थिए भने एक सहयोगी पनि थिए ।
शाहीको शव जल्दै गर्दा ढकालले शवको केही मासुको भाग निकालेर बट्टामा राखेर सहयोगीलाई दिए । लगत्तै सहयोगी उक्त बट्टामा राखेको मासुको भाग लिएर वेपत्ता भए । यो क्रममा चलिरहँदा शाहीका आफन्तको ध्यान त्यसतर्फ पुग्यो र उनीहरुले त्यसको प्रतिकार गर्दै के गरेको यो जल्दै गरेको शवमाथि भन्दै ढकाललाई सोधपुछ गर्न थाले ।
सोधपुछ गर्ने क्रममा घाटे ढकालले मासु नझिकेको, कोइला र खरानी झिकेर पठाएको दाबी गरे । तर, शाहीका मलामीले प्रत्यक्ष देखेका घाटे ढकालले जलिरहेको शवबाट मासु निकालेर पठाएका थिए । त्यसपछि मलामीले तत्कालै गौशाला प्रहरीलाई घटनाबारे जानकारी गराए ।
मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । तर, उनले अहिलेसम्म ठोस जवाफ नदिएको प्रहरीले जनाएको छ ।
तर, घाटे ढकालले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् । तर, आफूले मासु नभएर हड्डी झिकेको ढकालले प्रहरीसमक्ष बताएका छन् ।
मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको छ ।
डीएसपी खनालका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ । अनुसन्धानको निष्कर्षपछि कुन कानुनअनुसार कारबाही गर्ने भन्ने विषयमा कानुन व्यवसायी र सरकारी वकिलसँग सल्लाह गरिने उनले बताए ।
शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।
प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।
शव दहन भइरहेको शवबाट अंग झिकेर अरुलाई दिने कुरा सामान्य होइन् । शुक्रबार पक्राउ परेका घाटेसँगको सोधपुछपछि अनुसन्धानरत एक प्रहरीका अनुसार त्यस्तो हुनुका पछाडि घाटे र अघोरी बाबाबीचको साँठगाँठ हुनसक्छ ।
कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने हुन्छन् ।
