काठमाडौं । मोहमद आदिल आलमलाई काठमाण्डू गोर्खाजले अनुबन्ध गर्न सफल भएको छ । पूर्व राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिललाई भित्र्याउन ८ वटै टोली अधिकतम रकम तिर्न तयार भएका थिए ।
सबै टोलीले अधिकतम मूल्य तिर्न तयार भएपछि गोलाप्रथाबाट काठमाण्डूले पाएको हो । एनपीएलको जारी अक्सनमा कुनै पनि खेलाडीका लागि अधिकतम मूल्य तिर्न सबै टोली तयार भएको यो नै पहिलो नाम हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले २०८२ वैशाख २१ गते (मे ५, २०२५) देखि लागू हुने गरी उनमाथि लगाइएको प्रतिबन्ध हटाएको थिए । उनलाई २०७९ पुसमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएको थियो ।
क्यानको इन्टिग्रिटी कमिटीको अनुसन्धान र प्रतिवेदनको आधारमा प्रतिबन्ध फुकुवा गरिएको थियो । २०८० चैत्र १३ गते काठमाडौं जिल्ला अदालतले आदिलसहित अन्य खेलाडीहरूलाई स्पट फिक्सिङको आरोपमा सफाइ दिएको थियो ।
आदिल मध्यम गतिको बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन्, र उनले नेपालबाट ६ एकदिवसीय र ८ टी–२० खेल खेलेका छन् ।