पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरुको साथबाट पाँच लाख १४ हजार छ सय ६५ रुपैयाँ नगदसमेत बरामद भएको छ ।
अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना पोखरा महानगरपालिका वडा नं २, ३, ४ र ९ का विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले बताए ।
पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कलकत्ताका ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षका सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा, ४९ वर्षीय प्रोभास माझी छन् ।
उनीहरुबाट सुन पाँच सय ४९ तोला ४० लाल, चाँदी चार सय ४४ तोला ७३ दशमलव ९ लाल बरामद भएको एसपी ओलीयाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्राउ परेका ११ जनालाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि पनि पटकपटक अवैध सुनचाँदीसहित भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
