काठमाडौं । बेलायतको ग्रेटर म्यानचेस्टर प्रहरीले पाकिस्तानका राष्ट्रिय टोलीका ब्याट्सम्यान हैदर अलीलाई पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका उनलाई अनुसन्धान जारी रहँदासम्म बेलायत छोड्न नपाउने शर्तमा जमानत दिइएको छ ।
प्रहरीका अनुसार हैदर अलीविरुद्धको मुद्दा पाकिस्तान ‘शाहिन्स’को हालैको इंग्ल्यान्ड भ्रमणका क्रममा भएको घटनासँग सम्बन्धित छ । अनुसन्धान सकिएपछि मात्र कानुनी निष्कर्ष आउने जनाइएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार राति विज्ञप्ति जारी गर्दै हैदर अलीलाई तत्काल प्रभावबाट निलम्बन गर्ने घोषणा गरेको छ । पीसीबीले बेलायतको कानुनी प्रक्रियाप्रति सम्मान जनाउँदै उनलाई कानुनी सहयोग प्रदान गरिरहेको जनाएको छ ।
हैदर अलीले सन् २०२० मा पाकिस्तान राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता उनले ३५ टी–२० अन्तर्राष्ट्रिय र २ एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन् ।
उनको पक्राउको खबर सार्वजनिक भएपछि पाकिस्तानी क्रिकेटका प्रशंसकहरूले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जनाएका छन् ।