- सुजन पन्त
काठमाडौं । नेपाल प्रहरीमा ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) को चर्चा सुरु भएको छ । आईजीपी दिपक थापा अवकाशमा जाने दिन नजिकिएसँगै भावी आईजीपीको चर्चा सुरु भएको हो ।
विद्यमान प्रहरी नियमावलीअनुसार अबको २५ दिनपछि अर्थात भदौ १८ गते आईजीपी थापा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ ।
यस्तो अवस्थामा ३२ औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका ५ अधिकृत मुख्य प्रतिस्पर्धामा छन् । जसमा एआईजीहरु चन्द्रकुवेर खापुङ, दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा रहेका छन् ।
सिआईबी प्रमुख समेत रहेका एआईजी खापुङ पहिलो नम्बरमा छन् । उनी आफ्नो ब्याचबाट एकल दाबेदार हुन् । उनकै ब्याचका कृष्णहरी शर्मा पोखरेल पनि एआईजी पदमै छन् । तर, १८ भदौअघि नै पोखरेल ५६ वर्षे उमेर हदका कारण अवकाश जाने भएपछि खापुङ एकल दाबेदार देखिएका हुन् ।
खापुङ आईजीपी भएमा उनको कार्यकाल २७ कात्तिकसम्म हुनेछ । खापुङको नेकपा एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । त्यसकारण दुई महिनाका लागि भए पनि उनी आईजीपी हुने सम्भावना छ ।
त्यसो त भदौमा आईजीपी हुने दाउमा त्यसपछिको ब्याच पनि लागेको छ । खापुङपछि प्रतिस्पर्धामा रहेका चारैजना आईजीपी बढुवाको प्रतिस्पर्धामा बढुवाका लागि तीव्र लविइङमा छन् । आफू निकट शक्तिकेन्द्रलाई दबाब दिएर उनीहरू पनि आईजीपी बन्न लागिपरेका छन् ।
आईजी प्रतिस्पर्धाको दोस्रो नम्बरमा रहेका कार्की प्रहरी संगठनमा व्यवसायीक र इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । सिनियर भएकाले कार्की भदौमा नभए पनि कात्तिकमा आईजी बन्ने सम्भावना प्रबल रहेको अड्कल गरिन्छ ।
त्यस्तै एआईजी शाहलाई पनि मुख्य दाबेदार मानिएको छ । कार्कीसँग मुख्य प्रतिस्पर्धा शाहको हुने चर्चा प्रहरी प्रधान कार्यालयमा छ । नेपाली कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले शाहको पनि आईजी बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।
अर्का प्रतिस्पर्धी अधिकारीको पनि एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । जसकारण स्वच्छ छवि भएका अधिकारीको पनि आईजीपी बन्ने सम्भावना छ । यस्तै राजनीतिक पहुँच कम भएका केसी पनि आईजीपीको प्रतिस्पर्धामा देखिएपनि सम्भावना कम छ ।
उनी पनि प्रहरी संगठनमा अब्बल र व्यवसायीक अधिकृतको रुपमा चिनिन्छन् ।
सरकारले यी एआईजीमध्ये एकलाई आगामी १८ भदौपछि आईजीपीमा बढुवा गर्नेछ । त्यस्तै २ महिनाको लागि खापुङलाई आईजी नियुक्त गरेको अवस्थामा २७ कात्तिकपछि ४ एआईजीमध्ये पुनः एकलाई ३३ औं आईजीपी नियुक्त गर्नेछ ।
