काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा अनुप खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
युवा उपाध्यक्षको हैसियतमा सफल कार्यकाल पूरा गरिसकेका खनालले दीर्घकालीन छात्रवृत्ति कार्यक्रम, खेलकुद प्रवर्द्धन, विद्यार्थी सहयोग, तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन् ।
उनले ‘कार्यमा विश्वास, मात्र शब्दमा होइन’ भन्ने मूल मन्त्रका साथ नेतृत्व गर्दै आएका छन् । ‘म फेरि एकपटक झनै बढी प्रतिबद्धता र उद्देश्यका साथ सम्पूर्ण एनआरएनए एनसीसी अमेरिका समुदायको सेवा गर्न तयार छु,’ खनालले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने ।
उनले सबैलाई सशक्त, एकीकृत र अग्रगामी सोच बोकेको एनआरएनए समुदाय निर्माणमा साथ दिन अपिल गरेका छन् ।
