काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागेर लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी उमा चतुर्वेदीका अनुसार इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको छ ।
उनले छानबिन समितिका लागि तयारी थालिएको र इन्स्पेक्टर यादवलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरी कार्यालय फिर्ता बोलाएको जानकारी दिए ।
लालु यादव, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।
घटनापछि मृतक परिवार र स्थानीयवासी आक्रोशित बनेका थिए । बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग राखेपछि बिहीबार प्रशासन र पीडित पक्षबिच सहमति भएको हो ।
घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने र समितिको प्रतिवेदनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
यसैगरी प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई घटनाको छानबिन नहुँदासम्म जिम्मेवारीबाट अलग गर्न तालुक निकायमा अनुरोध गर्ने सहमति भएको छ । आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी शव परिवारका सदस्यले बुझेर अन्तिम संस्कार गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
