काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार भएको भीषण बाढी र पहिरोमा परेर कम्तीमा २२ नेपाली सम्पर्कविहीन भएका छन् । जाजरकोटका १३, बर्दियाका ५, धादिङका ४ र जुम्लाका एक जना बेपत्ता छन् । घटनामा घाइते भएका केहीको भारतमै उपचार भइरहेको छ ।
मंगलबार ‘क्लाउड बस्र्ट’ (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालको ग्राम बाकुडानजिक सिन्धु खोला किनारमा खसेको पहिरोले नेपाली कामदार बगाएको हो ।
यी दुवै घटनामा नेपालीहरू परेको अनुमान गर्दै प्रभावित स्थानीय तहहरूले नेपाल सरकारसँग उद्धारका लागि पहल गर्न आग्रह गरेका छन् ।
जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहसहित परिचय नखुलेका ७ जना सम्पर्कविहीन छन् । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार अन्य वडाका व्यक्तिहरूसमेत हराएको आशंका छ। उनीहरू मजदुरीका लागि ३÷४ महिनाअघि भारत गएका थिए ।
बस्नेतका अनुसार जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका एक जना पनि सम्पर्कविहीन छन् ।
पौडी गढवालको थलिसेन ब्लकअन्तर्गत बकुडा गाउँमा सडक निर्माणमा संलग्न बर्दियाका कामदार टेन्टमा बसिरहेका बेला बुधबार बिहान १० बजेतिर माथिबाट आएको ठूलो पहिरोले बगायो ।
बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन, मधुवन–५ की अमृता परियार र २१ वर्षीय सुवास विक रहेका छन् ।
घटनाको प्रत्यक्षदर्शी चित्रबहादुर पौडेलका अनुसार उक्त क्षेत्रमा तीन÷चार दिनदेखि लगातार वर्षा भइरहेको थियो । वर्षाका कारण टेन्टमै रहेका बेला पहिरो खसेको हो । पहिरोमा परी मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हातखुट्टा भाँचिएको छ भने उनीहरूको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङसमेत सम्पर्कविहीन भएका छन् । धादिङका सीडीओ सुमन घिमिरेका अनुसार उनीहरू कामका लागि उत्तराखण्ड गएका थिए ।
दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तरकाशी घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी नआएको बताए । स्थानीय तह र नेपाली समुदायबाट आएको सूचनाका आधारमा बुझ्ने प्रयास भइरहेको उनले बताए ।
धराली बजारको घटनामा २ सय ७४ जनाको उद्धार भएको र ४ जनाको शव भेटिएको भए पनि ती सबै भारतीय नागरिक भएको प्रारम्भिक जानकारी आएको छ । पौडी गढवालको घटनामा भने ५ जना नेपाली बेपत्ता भएको र केही घाइते भएको पुष्टि भएको मल्लले जनाए ।
