काठमाडौं । खोटाङमा विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिकालाई आफनै साथीहरुले नियन्त्रणमा लिएर रातभरी सामूहिक बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ ।
कक्षा–८ मा अध्ययनरत बालिकालाई उनकै विद्यालयको कक्षा–९ मा अध्ययनरत १५–१६ वर्षका दुई किशोरले साउन १९ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै दुई जनाले जंगलको बीचमा पु¥याएको र बाटो छेकेर ओढारमा लगी रातभरि बलात्कार गरेको पीडित बालिकाको परिवारले जनाएको छ ।
विद्यालय गएकी बालिका घर नफर्किएपछि आफन्तले खोजतालस सुरु गरेका थिए । सोही क्रममा बालिकालाई भोलिपल्ट ओढारमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सुशान्त मिश्रले बताएका छन् ।
आफन्तले साउन २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएको मिश्रले बताए । आरोपित दुवै जना फरार छन् । स्वास्थ्य परीक्षणपछि बिहीबार बालिकालाई आफन्तको जिम्मा लगाईएको छ ।
