काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाले समाचारको सूचना दिएको आरोप लगाउँदै एकजना सहायक हवल्दारलाई नजरबन्दमा राखेको पाइएको छ ।
स्कुपखबरमा ‘लागूऔषध नियन्त्रण ब्यूरो विवादमा: कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान’ शीर्षकमा समाचार प्रकाशित भएपछि एसएसपी कोइरालाले हवल्दार मणि उप्रेतीलाई नजरबन्दमा राखेका हुन् ।
त्यतिमात्र होइन, एसएसपी कोइरालाले आफ्नो पदको दुरुपयोग गर्दै सहायक हवल्दार उप्रेतीमाथि कारबाहीको डण्डा चलाउन खोजेका छन् । सोधपुछको लागि भन्दै उप्रेतीलाई समाचार आएको कहीदिनमै उजुरी छानबिन शाखाले बोलाएको पारिवारिक स्रोतले जनाएको छ ।
त्यसपछि अहिलेसम्म उप्रेतीलाई घर जान दिइएको छैन । एउटा अपराधीलाई जस्तो व्यवहार गरेर कोइरालाले एसएसपी पदको दुरुपयोग गर्दा पनि प्रहरी नेतृत्व मौन छन् । जुनकुरा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई राम्रैसँग थाहा छ ।
‘जबकी उप्रेतीले उक्त सूचना हामीलाई दिएका थिएनन् । तर, सूचना दिएको आरोप लगाएर एसएसपी कोइरालाले पदको दुरुपयोग गर्दा आईजीपी थापा मौन बस्नुले शंका गर्ने ठाउँ उब्जिएको छ,’ स्कुपखबरका संचालक सुजन पन्तले भने ।
समाचार आएपछि एसएसपी कोइरालाले आफ्नो कर्तुत ढाकछोप गर्नको लागि सहायक हवल्दारमाथि रिसिइबी साँधेको पन्त बताउँछन् । यदी उनले नगरेको भए कानुनी बाटो अपनाएर समाचारप्रति खण्डन गर्न सक्थे । तर, त्यसो नगरेर उनले आफ्नो पदको दुरुपयोग गरे ।
हाल उप्रेतीलाई प्रहरी प्रधान कार्यालयभित्र रहेको १ नम्बर गणमा राखिएको छ । उनलाई बाहिर आउनसमेत दिइएको छैन् । यसरी तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल गिराउँदा आईजीपी थापा किन मौन बसिरहे ? प्रश्न उब्जिएको छ ।
त्यतिमात्र नभएर उप्रेतीलाई उजुरी छानबिन शाखाले बोलाएको दिन एसएसपी कोइराला आफैं पनि पुगेका थिए । जहाँ उनले सहायक हवल्दार उप्रेतीमाथि जाइलागेर तथानाम गाली गरेको पारिवारिक स्रोत बताउँछ ।
उजुरीमै कार्यरत एक प्रहरीकाअनुसार त्यो दिन एसएसपी कोइरालाले ‘हेर्दै जा अब के हुन्छ ? तँलाई कि कारबाही गरेरै छाड्छु होइन भने बाजुरा पठाउन सकिन’ भन्दै धम्क्याएका थिए । यसरी उजुरी छानबिन शाखालाई समेत प्रभावित पारेर कोइरालाले धम्की दिएका थिए ।
यता परिवार उप्रेतीलाई घर आउन नदिएपछि तनावमा छन् । ‘अब उहाँले जागिर नखाने जस्तो कुरा गर्नुभएको छ । एउटा तल्लो दर्जाका प्रहरीमाथि यसरी हाकिमले खेदो खनेपछि कसरी जागिर खानु ? सायद त्यहाँबाट निस्केपछि उहाँले केही न केही निर्णय दिनुहुन्छ,’ परिवारले हामीसँग गुनासो पोखे ।
