काठमाडौं । मंगलबार स्कुपखबरमा ‘मानव तस्करको मित्र नै गृहमन्त्रीको नीजि सचिव !’ शीर्षकमा समाचार प्रकाशित भएपछि घर पर्वत रहेका उपसचिव दर्जाको बर्दी तिवारीको कर्तुत विस्तारै बाहिर आउँदैछ ।
तिवारीका कारण गृहमा हलचल पैदा भएको छ । अपराधी मनोवृत्तिका तिवारी पछिल्लो समय चर्चामा रहेको भिजिट भिषा सेटिङका मुख्य नाइके हुन् । जसले गर्दा गृह मन्त्रालय फोहोरले दुर्गन्धित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालिन प्रमुख तिर्थराज भट्टराई तिवारीका अतिनिकट मानिन्छन् । तिवारीले नै जतिबेला भट्टराईलाई विमानस्थल अध्यागन प्रमुख बनाएर लगेका हुन् ।
गृहमन्त्री रमेश लेखकसँग अन्तरङ्ग सम्बन्ध स्थापना गरेर नजिक बनेका तिवारीको आदेशमा भट्टराईलाई अध्यागमनको हाकिम बनाइएको थियो । भिजिट भिषा सेटिङ गर्ने उद्देश्यले नै भट्टराईको नाम तिवारीले गृहमन्त्रीसमक्ष सिफारिस गरेको स्रोतको दाबी छ ।
त्यतिमात्र नभएर तिवारीको आदेशमा अहिलेपनि निजामती कर्मचारी प्रशासन शाखामा कार्यरत गणेशदत्त ओझाले कर्मचारीहरु खटनपटन गर्छन् । कुन कर्मचारीलाई कहाँ पठाउने भन्नेबारे तिवारीको हुर्मत चल्ने गर्छ ।
गृहमन्त्रीको निजी सचिवालयमा बसेर सेटिङ मिलाउन माहिर धमिरा तिवारीले प्रहरी सरुवा तथा बढुवाका साथै मन्त्रालयमा कार्यरत सहसचिवदेखि खरिदारसम्मको सरुवा तथा बढुवामा आदेश दिने गर्छन् ।
प्रहरीको जवान र हवल्दारको सरुवामा समेत भाग खोज्ने, एयरपोर्टको अध्यागमनमा काज र सरुवा गर्दा प्रिपेड र पोस्टपेड ५ लाख देखि १५ लाखसम्म नजरना लिई नाम हाल्न सिपालु तिवारी गृह मन्त्रालयबारे अनुभव शुन्य मान्छे हुन् ।
उनै तिवारीले विवादास्पद व्यक्तिहरुलाई अहिलेपनि विमानस्थल अध्यागमनमा पठाउने गरेका छन् । अझ रोचक त, उनै तिवारीले नातामा आफ्नो दाजु पर्ने सहसचिव रामचन्द्र तिवारीलाई मंगलबारको सरुवामा अध्यागमन कार्यालयको हाकिम बनाउन समेत सफल भएका छन् ।
हुँदाहुँदा अहिले उनले गृह मन्त्रालयमा एउटा समूह नै खडा गरेका छन् । पर्वतको छुट्टै गुट सञ्चालन गरेका तिवारीले एकजना एसएसपीलाई डिआईजी बनाएर पैसा समेत खाएको पाइएको छ । जुनकुरा अहिले प्रहरी प्रधान कार्यालयभित्र चर्चाको विषय छ ।
त्यतिमात्र नभएर बर्दी तिवारी सहकारी डुबाउनेमध्येका एक आरोपी समेत हुन् । उपसचिव तिवारीले निजामती सेवामा प्रवेश गरेको केही बर्षमै नियामक निकायका रुपमा रहेको सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदा लाखौं घुस खाएर मनपरी सहकारी दर्ता गर्ने र कार्यक्षेत्र बढाएका कारण आज धेरै सहकारी बचतकर्ताको अर्बौँ बचत डुबेको छ ।
२०६४–०६५ मा वैदेशिक रोजगार विभागमा कार्यरत तिवारी त्यसपछि सहकारी डिभिजन कार्यालय ललितपुरको प्रमुखमा सरुवा भएका थिए । ललितपुरको सहकारी डिभिजन प्रमुख भएको समयमा उनले गरेका निर्णयले गर्दा नै धेरै सहकारी अहिले समस्याग्रस्त भएका छन् ।
बचतकर्ताको अर्बौं बचत हिनामिना गर्ने सहकारीको कार्यक्षेत्र लाखौं घुस खाएर बढाउने अनुमति तिवारीले नै दिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार नियामक निकायको प्रमुख भएर घुसको दररेट तोकी उनले ललितपुरमा हुँदा हचुवाका भरमा कार्यक्षेत्र बढाउन अनुमति दिएका लालीगुराँस सहकारीमा जनताको ६ अर्ब बचत रकम डुबेको छ ।
देउराली सहकारीमा ७ अर्ब बचत डुबेको छ भने गोरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमा ४ अर्ब बचतकर्ताले फिर्ता पाउन सकेका छैनन् ।
स्रोतका अनुसार तिवारी पंचशील सहकारी कुमारीपाटीको अहिले पनि सल्लाहकार छन् । त्यहाँ उनको नक्कली नाममा खातासमेत रहेको छ । उपसचिव तिवारी लामो सयमदेखि शक्तिकेन्द्रसँग निकट भएर अनेक धन्दामा संलग्न कर्मचारी हुन् ।
निजामती सेवामा प्रवेशपछि सधैं आकर्षक स्थानमा सरुवा हुने भाग्यमानीमा पर्दछन् तिवारी ।
