काठमाडौं । इंग्लिस फरवार्ड ह्यारी केनको २ गोलको मद्दतमा जर्मन क्लब बार्यन म्युनिखले क्लब विश्वकपको अन्तिम १६ मा ब्राजिली क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गरेको छ।
मियामीको हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआतदेखि नै आक्रामक देखिएको बार्यनले छैटौं मिनेटमा विपक्षी खेलाडी एरिक पुलगारको आत्मघाती गोलमार्फत अग्रता लियो। त्यसपछि नवौं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर पारे।
फ्लामेंगोका लागि ३३औं मिनेटमा गेर्सनले गोल फर्काए। त्यसपछि ४१औं मिनेटमा लियोन गोरेट्ज्काले तेस्रो गोल गर्दै बार्यनलाई पहिलो हाफमै ३–१ ले अगाडि राखे ।
दोस्रो हाफको ५४औं मिनेटमा फ्लामेंगोका जोर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेलमा रोमाञ्च थप्ने प्रयास गरे । तर, ७३औं मिनेटमा पुनः केनले गोल गर्दै बार्यनको ४-२ को जित सुनिश्चित गरे।
बायर्नले अब सेमिफाइनल प्रवेशका लागि पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले इन्टर मियामीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।