काठमाडौं । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा आज बिहान एक युवक र एक किशोरी मृत अवस्थामा फेला परेका छन् ।
अमलचौरीका २८ वर्षीय रविन राई र १४ वर्षीया किशोरी मञ्जु राई मृत अवस्थामा भेटिएका हुन् । मन्जुको शव गाउँको बाटोमा लडिरहेको अवस्थामा फेला परेको थियो भने त्यसको करिब दुई सय मिटर टाढा रविन राईको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय बेल्टारका इन्सपेक्टर बबिन राईका अनुसार स्थानीयले बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनका अनुसार शव पोष्टमार्टमका लागि पठाउने र कानुनी प्रक्रिया अघि बढाइएको छ ।
‘घटना कसरी घट्यो, के कारणले घट्यो भन्नेबारे हाल अनुसन्धान सुरु भइसकेको छ,’ डिएसपी दोङले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
