काठमाडौं । कैलाली जिल्ला कारागारमा बैंकिङ कसुरमा थुनामा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको शंकास्पद मृत्यु भएको छ । अदालतले पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
यस्तो छोटो अवधिको सजाय भुक्तान गर्न कारागारमा पठाइएका पालीको रहस्यमय मृत्यु भएपछि परिवारले कारागारभित्रै यातना दिइ हत्या गरिएको दाबी गरेका छन् । पालीलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरी कैलाली जिल्ला कारागार चलान गरेको थियो ।
पक्राउ परेको दुई दिनपछि, असार २ गते राति साढे १० बजे पाली कारागारभित्र बेहोस अवस्थामा फेला परेका थिए । जेल प्रशासनले उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पु¥याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
कारागार प्रशासनले पालीलाई अस्पताल पु¥याउँदा उच्च ज्वरो आएको र रक्तचाप निकै कम रहेको दाबी गरेको छ । तर मृतकको शव परीक्षण गर्दा शरीरका विभिन्न भागमा चोटपटक र नीलडाम भेटिएको पाइएको छ ।
मृतकका काका पदम सिंह पालीका अनुसार, उनको नेपाल प्रहरीका सई हरिजित नाथसँग पुरानो आर्थिक विवाद थियो । पक्राउपछि पनि नाथले पालिसँग रकम मागिरहेकै थिए र मृत्यु हुनु केही घण्टा अघिमात्र मृतक पालीले नाथकै खातामा ८५ हजार रुपैयाँ पठाएका थिए ।
आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुमा देखाइने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको घटनाले परिवारमा अझै गहिरो शंका पैदा गराएको छ । मृतकका आफन्त र परिवारले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन् । उनीहरूले कारागारभित्रै पालीलाई यातना दिइ हत्या गरिएको आरोप लगाएका छन् ।
‘१० दिन कैद सजाय पाएका मान्छे दुई दिनमै मृत अवस्थामा भेटिनु संयोग मात्र हुन सक्दैन,’ मृतकका भाइ हिक्मत सिंह पालीले भने । घटना रहस्यमय भएको भन्दै सत्यतथ्य छानबिन र दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न उनले माग गरेका छन् ।
मृतकका परिवारले न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान लिएका छन् । साथै, परिवार प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा रहेको बताएका छन् । मृतक पालीका एक श्रीमती र एक छोरा रहेका छन् ।
