काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई औपचारिक रूपमा दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
बुधबार सशस्त्र प्रहरी बलको मुख्यालय, हलचोकमा आयोजित विशेष कार्यक्रममा आईजी अर्यालले ठाडा मगरलाई पद अनुसारको दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।
बढुवा समितिको सिफारिसका आधारमा ठाडा मगरलाई हालै एआईजी पदमा बढुवा गरिएको हो ।
कार्यक्रमको अवसरमा महानिरीक्षक अर्यालले ठाडा मगरको पेशागत योगदान, कार्यकुशलता र नेतृत्व क्षमताको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
बढुवापछि ठाडा मगरले आफ्नो जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र राष्ट्रसेवामा समर्पित भावनाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू, कर्मचारी, तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ ।
सशस्त्रका महानिरीक्षक अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन् । त्यसपछि हालका वरिष्ठ एआईजी नारायण पौडेलले २ बर्ष संगठनको नेतृत्व सम्हाल्नेछन् ।
पौडेलको अवकाशपछि ठाडामगर सिनियर एआईजी हुनेछन् । जसले गर्दा उनलाई सशस्त्र प्रहरी प्रमुख हुने बाटो खुलेको छ ।
