काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी चोरी गर्ने प्रयासमा एक युवकको ज्यान गएको छ । सोमबार बिहान करिब साढे २ बजे रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न गएका रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी खुकुरी प्रहारबाट मृत्यु भएको हो ।
घरधनी सन्तोष चौधरीले खसी चोरीको प्रयास भइरहेको थाहा पाएपछि होहल्ला गरेका थिए । होहल्ला सुनेपछि चोरीमा संलग्न राकेश चौधरी भागे पनि उनलाई खेद्दै जाँदा सन्तोषले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राकेशको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।
घाइते अवस्थामा राकेशलाई तत्काल झुम्कास्थित साई अस्पतालमा पु¥याइएको थियो । थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो, तर बिहान सवा ५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने घरधनी सन्तोष चौधरीलाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
