काठमाडौं । सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्रको एआईजी पदमा बढुवा भएका हुन् ।
गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो । बढुवाको प्रतिस्पर्धामा आधा दर्जनभन्दा बढी नायब महानिरीक्षक (डिआईजी)हरूलाई पछि पार्दै ठाडा मगर एआईजीमा सिफारिस भएका थिए ।
शक्तिकेन्द्रहरूबीचको रस्साकस्सीका कारण डेढ महिनासम्म बढुवा सिफारिस रोकिएको थियो । उनको यो बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश पनि हो ।
सशस्त्र प्रहरी बलको नेतृत्व संरचनामा निडर, निष्ठावान् र दूरदृष्टि सम्पन्न कमाण्डरको रूपमा चिनिछन् ठाडा मगर । उनको बढुवा सशस्त्र प्रहरी संगठनभित्र योग्यता, अनुशासन र कार्यदक्षताको सम्मान गरिएको स्पष्ट संकेतको रूपमा लिइएको छ ।
ठाडा मगरले नेतृत्व गरेका छिन्नमस्ता बाहिनी (२०७८) र बाग्मती बाहिनी (२०८१) दुवै युनिट उनको कार्यकालमा देशकै उत्कृष्ट घोषित भएका थिए ।
अनुभवी तथा वरिष्ठ अधिकृतहरू रहेको प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्नुले उनको रणनीतिक कौशल र प्रेरणादायी नेतृत्व क्षमतालाई प्रमाणित गर्छ ।
माओवादी द्वन्द्वकालमा उच्च जोखिमयुक्त जिल्लाहरूमा अपरेसनल जिम्मेवारी सम्हालेका उनले साहसिक, व्यावसायिक र निडर निर्णय क्षमताको परिचय दिएका थि ए। स्थानीय स्तरमा आज पनि उनको सेवा र प्रतिबद्धता प्रति सम्मान कायम छ ।
ठाडा मगरले भारत, चीन, इटाली तथा संयुक्त राष्ट्रसंघको विभिन्न रणनीतिक तथा मानवअधिकार तालिमहरू प्राप्त गरेका छन् । उनी एपिएफ कमाण्ड तथा स्टाफ कलेजको प्रमुख प्रशिक्षक समेत रहिसकेका छन्, जसले हालका प्रतिस्पर्धी अधिकृतहरूलाई समेत मार्गदर्शन गरेका छछन् ।
केही समय अगाडि सामाजिक सञ्जालमा व्यक्त भएका आरोपहरूबारे न्यायिक अनुसन्धानले उनलाई निर्दोष ठहर गरेपछि, उनीप्रति उठाइएका आशंका स्वतः खारेज भएका छन् ।
इमानदार र अग्रपंक्तिमा खटिने अधिकृतहरू अकसर आलोचनाको केन्द्रमा पर्ने गर्दछन् भन्ने यथार्थ यो प्रकरणले उजागर गर्छ । उनको बढुवा सशस्त्र प्रहरी संगठनभित्र योग्य, इमानदार र सक्षम अधिकृतहरूको सम्मान भएको संकेत हो ।
यस निर्णयमार्फत संगठनले नेतृत्वमा क्षमताको कदर गर्दै आएको स्पष्ट सन्देश प्रवाह गरेको छ ।
