काठमाडौं । नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी उपरीक्षक (एसपी) पदम विष्टको नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै इन्स्पेक्टर र जवान दुवैलाई कारबाही गर्न सिफारिस गरेको छ ।
३१ वैशाखमा नागढुंगामा कार्यरत ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र शाहले प्रहरी प्रभाग नागढुंगामा कार्यरत जवान मदनराज खड्कालाई कुटपिट गरेका थिए । काठमाडौँ भित्रिन लागेको ट्रकसँग जवानले १ सय रुपैयाँ ‘घुस’ लिएको देखेपछि आफूले कुटेको इन्स्पेक्टर शाहले जिकिर गरेका थिए ।
तर, जवान खड्काले ट्रक चालकसँग रकम लिएको तथ्य अस्वीकार गरेका छन् । छानबिन समितिका एक जना सदस्य भन्छन्, ‘जवानले रकम लिएको अस्वीकार गरेका छन् ।’
तर, जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सडकमा मर्यादा विपरीत जवानलाई आक्रमण गरेको भन्दै इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय गरेको छ । समितिका ती सदस्य भन्छन्, ‘इन्स्पेक्टर शाहलाई सचेत गराइएको छ ।’
शाहलाई ट्राफिक प्रहरीको जिम्मेवारीबाट हटाएर प्रहरी वृत्त कीर्तिपुरमा सरुवा गरिएको छ । जवान भद्रकालीस्थित प्रहरी परिसरमा कार्यरत छन् । जवान खड्कालाई पनि कारबाही गर्ने प्रहरीको तयारी छ । ती सदस्य भन्छन्, ‘जवानलाई कारबाही गर्ने विषय छलफलमै छ, निर्णय भैसकेको छैन ।’
उपत्यका प्रहरी कार्यालयले नागढुंगा ट्राफिकमा इन्स्पेक्टर किरण रावतलाई पठाएको छ । सडकमै साहले जुनियर प्रहरीलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
