काठमाडौं । हाल नेपाल प्रहरीमा ११ वटा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को पद रिक्त छ । पद रिक्तसँगै प्रहरी प्रधान कार्यालयले एसएसपी बढुवाको तयारी गरेपनि निकाल्न सकिरहेको छैन् ।
तर, बढुवाको चर्चासँगै केही विवादित र कमजोर कमाण्ड क्षमताका प्रहरी उपरीक्षक (एसपी)हरु एसएसपी बढुवाका लागि चर्को दौडधुप गरिरहेका छन् । ती एसपीहरु शक्तिको आडमा अहिलेको बढुवामा पर्न खोजेपनि प्रहरी नेतृत्वले तिनीहरुलाई नरुचाएको पाइएको छ ।
त्यसैले अहिले नेपाल प्रहरीको एसपीबाट एसएसपी बढुवा गर्न विवादित र कमजोर अधिकृतहरुको बाहुल्यता रहेको चर्चा छ । आफ्नो कार्यकालमा विवादित छवि बनाएका एसपीहरु एसएसपी बढुवाको लागि निकै दौडधुप गरिरहेका हुन् ।
अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएपनि उनको कारवाही नै फुकुवा भैसकेको छैन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारवाही फुकुवा नभएका कारण उनको बढुवा सम्भावना निकै कमजोर रहेको छ ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन् । एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन् ।
त्यस्तै २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, दयानिधि ज्ञावली, राकेश सिंह, राजिव बस्नेत, दीपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन् ।
एसपी कमल थापा हनी ट्रयापको काण्डमा मुछिएका अधिकृत हुन् । विवादित थापा अहिले जसरी पनि बढुवा हुन खोजिरहेका छन् । यस्तै पोखरेललाई शक्ति केन्द्रको आडमा घर पायक पूर्वी क्षेत्रमा बसेर राज्यशक्तिको दोहोन गरेको आरोप छ ।
सुनसरी मोरङलगायतमा जिल्लामा पालैपलो विभिन्न यूनिट बिताएका पोखरेलले प्रहरी कर्मचारी, सवारी साधान तथा संगठनलाई दिनुपर्ने समय निजी जीवनलाई दिएर ड्रागन खेती गर्नमा लगाएको आरोपका कारण उनको बढुवा रोकिने सम्भावना रहेको छ ।
यस्तै भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बिष्ट, बासुदेव खतिवडा, सुवास चन्द्र बोहरा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्ल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन् ।
तिवारी धनुषा बस्दा विवादित बनेका थिए । पण्डित सिराहबाट आर्थिक अपचलन गरी प्रहरी प्रधान कार्यालय तानिएका अधिकृत हुन् ।
यस्तै प्रकाश रानाभाट समेत विवादित प्रहरी अधिकृत हुन् । उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका थिए । कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन् ।
यस्तै प्रविण धिताल, राकेश सिंह र केदार खनाल समेत कमजोर प्रहरी अधिकृत हुन् । कमजोर कार्यक्षमताकै क्षमताका कारण धिताल सर्लाहीबाट ४ महिनामै तानिएका थिए । सिंह पनि धादिङ बस्दा आर्थिक विवादमा मुछिएका थिए ।
त्यस्तै खनाल समेत गोरखा बस्दा विवादमा तानिएका थिए । सुपको नाता लगाएर चक्रराज जोशी र जनक शाही पनि बढुवाको लागि दौडधुप गरिरहेका छन् । जिल्ला प्रमुख रहेको बेला जोशी र खड्का त यसअघिको बढुवामा विदा लिएर मन्त्रालयमा आएका थिए ।
कर्मचारी प्रशासनमा रहेका योगेन्द्र सिंह थापा नजानिँदो पाराले बढुवाको कलष्टरमा बसिसकेका छन् । यसअघिको बढुवामा केही राम्रा अधिकृतलाई नियोजित रुपमा छुटाइएको थियो ।
यता, प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले कार्यसम्पादन मूल्यांकनको आधारमा मात्र बढुवा सिफारिस हुने अड्डी कसेपछि केही विवादित एसपीहरु जसरी पनि बढुवा हुनकै लागि नेताहरुको घरदैलो चहार्न थालेका छन् । उनीहरु कम्मर कसेर बढुवाको दौडमा लागिपरेको स्रोत बताउँछ ।
एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन्छन् । उनीहरुको सिफारिसमा मन्त्रीले निर्णय गर्नेछन् ।
यो पनि पढ्नुहोस्…
गृहमन्त्री विवादमा तानिँदा रोकियो एसएसपी बढुवा, एसपीहरुको अस्वभाविक चलखेल
प्रहरीमा एसएसपी बढुवाको तयारी, यी हुन् प्रतिस्पर्धीहरु
