काठमाडौं । कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् ।
जिल्लाको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीकाअनुसार, राजुले गोविन्द सुनारसँग विवाद गरेपछि ईट्टा र चक्कुजस्ता धारिलो वस्तु प्रयोग गरी तीन जनालाई कुटपिट गरेका हुन् ।
आक्रमणमा परी सुनिता सुनारको निधार र मुखमा, सुशीला सुनारको टाउकोमा तथा गोविन्द सुनारको निधार र टाउकोमा चोट लागेको छ । घाइतेहरूको पुनर्वासस्थित आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै आरोपी राजु सुनार फरार भएका छन् । उनको खोजीका लागि प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
