काठमाडौं । एनआरएनए जापानको अधिवेशन आगामी जुलाई २० तारिख आइतबार हुने भएको छ । अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ ।
एनआरएन जापानका प्रवक्ता खगराज गौतमका अनुसार आगामी अधिवेशन पश्चात नयाँ कार्यसमिति गठन प्रक्रियाका लागि वरिष्ठ पत्रकार तिलक मल्लको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति निर्माण गरेको छ ।
उक्त समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्य रहेका छन् । सम्भवत अधिवेशनको लगत्तै अर्को हप्ता अर्थात जुलाई २७ मा निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिने प्रवक्ता गौतमले जानकारी दिए ।
यसैगरी यहि जून २९ तारिख आइतबारका दिन एनआरएन जापानका १२ वटै क्षेत्रमा क्षेत्रीय अधिवेशनहरु सम्पन्न गर्ने कार्यक्रम रहेको महासचिव टिकाराम खरेलले जानकारी दिए । उनका अनुसार क्षेत्रीय अधिवेशन सकिएसंगै केन्द्रको अधिवेशनका लागि आवश्यक तैयारीहरु थालिने भएको छ ।
एनआरएन जापानको आगामी नेतृत्वका लागि हालका उपाध्यक्षत्रय सुभाष लामिछाने, सचिन श्रेष्ठ र सिध्दार्थ श्रेष्ठ आ-आफ्नो पक्षमा माहौल बनाउने कसरतमा होमिइसकेका छन् ।
गत पटक उपाध्यक्षको निर्वाचनमा पहिलो, दोस्रो र पाँचौं स्थानमा विजयी भएका श्रेष्ठ, लामिछाने र श्रेष्ठ पुनः अध्यक्ष पदका लागि भिड्ने लगभग पक्कापक्की जस्तै देखिन्छ ।
छिमेकका जिल्लाहरु क्रमशः म्याग्दी, पर्वत र बागलुङका यी तीन अनुहारका सामु जापानबासी नेपालीहरुको बीचमा परिक्षित भई आफुलाई अब्बल साबित गर्नुपर्ने चुनौती छ । उसो त उम्मेदवारी दर्ता गर्ने आधिकारिक तिथिमितिसम्म अरु दावेदारहरु पनि थपिन सक्ने सम्भावना जिवितै छ ।
यसैगरी महासचिवमा हालका प्रवक्ता खगराज गौतम र गतपटक महासचिवमा पराजित श्याम शितलको चर्चा छ । यी दुवैको आधारक्षेत्र हाल नागोया रहेको छ ।
