काठमाडौं । भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् ।
उनीमाथि नेपाली छात्रा लम्साललाई मर्न बाध्य बनाएको आरोप लागेको थियो । तर उडिसास्थित उच्च अदालतले गत मे १६ मा १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अद्विक श्रीवास्तव धरौटी बुझाएर हालसालै रिहा भइसकेका हुन् ।
गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलको कोठामै मृत अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानपछि भारतीय प्रहरीले घटनामा संलग्न रहेको भन्दै श्रीवास्तवलाई पक्राउ गरेको थियो ।
तर, अदालतको आदेशपछि उनी अहिले रिहा भएका छन् । प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्त धरौटीमा रिहा भइसकेको जानकारी आफूलाई हालै मात्र प्राप्त भएको बताएका छन् । ‘अदालतले मे १६ मै रिहा गर्ने आदेश दिएको रहेछ, तर मैले दुई÷चार दिनअघि मात्र थाहा पाएँ,’ उनले भने ।
उनले न्यायको माग गर्दै २८ जेठमा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर ज्ञापनपत्र बुझाइसकेको जानकारी दिएका छन् । ‘अहिलेसम्म सरकारबाट कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने ।
अभियुक्त रिहा भएपछि आफूले छोरीका लागि न्याय पाउने कि नपाउने भन्ने चिन्ता बढेको उनको भनाइ छ । यद्यपी घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।
