काठमाडौं । नवलपुरको देवचुली नगरपालिका–३, आम्बासमा एक दुर्लभ र दुःखद घटना सार्वजनिक भएको छ । ‘अत्याधिक प्रेम’ र ‘श्रीमतीको दुःख देख्न नसक्ने’ भन्दै ९० वर्षीय दिलबहादुर थापाले आफ्नै ७६ वर्षीया पत्नी जमुना थापाको हत्या गरेका छन् ।
जमुना दिलवहादुरकी कान्छी पत्नि हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दिलबहादुरले गएराति घरमै रहेको रड प्रहार गरी जमुनाको ज्यान लिएका हुन् ।
दिलबहादुरका अनुसार श्रीमती लामो समयदेखि बिरामी थिइन् र उनले आफ्नो मृत्युपछि पत्नीलाई एक्लै दुःख भोग्न नपरोस् भन्ने सोचले यस्तो कदम चालेका हुन् ।
घरमा दुवै वृद्ध मात्र थिए । आँखा पनि राम्ररी नदेख्ने दिलबहादुरले प्रहरीलाई भनेका छन्, ‘बुढीले एक्लै दुःख भोग्नुपर्ने पीडा मैले सहन सकिन्, त्यसैले म मरेपछि कष्ट नपाओस् भनेर यस्तो गरेँ ।’
डीएसपी मधु नेपालका अनुसार घटनाबारे दिलबहादुरका छोरा चित्रबहादुर थापाले प्रहरीलाई खबर गरेका थिए । वृद्ध तथा अशक्त भएकाले दिलबहादुरमाथि कारबाही कसरी अघि बढ्ने भन्नेमा अहिले कानुनी बहस सुरु भएको छ ।
वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेका अनुसार ज्यान मार्ने कसुरमा कानुन अनुसार सजाय त हुन्छ तर वृद्ध र बिरामीको हकमा ६० प्रतिशतसम्म सजाय छुट हुने कानुनी व्यवस्था छ ।
‘कानुनी प्रक्रिया भनेको अदालतको फैसला अनुसार अघि बढ्छ, उनी जेल जाने कि नजाने भन्ने कुरा कारागार प्रशासनको सिफारिस र स्वास्थ्य अवस्थाले निर्धारण गर्छ,’ बन्जाडेले भने ।
